२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

एमालेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने



काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य र व्यवस्थित बनाउन तयारीलाई तीव्र पारेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने उक्त भेलामा देशभर तथा प्रवासबाट समेत गरी ३ हजार १६४ जना प्रतिनिधिको सहभागिता रहने निश्चित भएको छ ।

भेलाको तयारीलाई अन्तिम रूप दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा तयारी बैठक सम्पन्न भएको छ । बैठकमा विभिन्न प्रदेशका फोकल पर्सनहरूले आ–आफ्नो क्षेत्रबाट हुने सहभागिताको अवस्था, आवास तथा कार्यक्रम सञ्चालनसम्बन्धी व्यवस्थापनबारे विस्तृत रिपोर्टिङ गरेका थिए । बैठकमा सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायतका नेताहरूको उपस्थिति थियो ।

बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टी पंक्तिमाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको स्पष्ट पारे । पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्दै कार्यकर्तालाई निर्वाचनको तयारीमा परिचालन गर्ने लक्ष्य भेलाको रहेको उनले बताए ।

संगठन विभाग प्रमुख ढकालका अनुसार सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार तथा स्वयंसेवक परिचालनको काम तीव्र गतिमा भइरहेको छ । उनले प्रस्तुत गरेको विवरणअनुसार भेलामा १ हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि, ४४० जना जिल्ला तहका प्रतिनिधि, ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि तथा प्रदेश, भारत प्रवास र प्रवासी नेपाली मञ्चका ५५ जना प्रतिनिधि सहभागी हुनेछन् । यसैगरी स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना, प्रदेशसभा सदस्य १५५ जना, जनसंगठनका प्रतिनिधि ९६ जना र संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना सदस्यको सहभागिता रहनेछ ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यातायात व्यवस्थापनलाई सहज बनाउन एमालेले सहभागी नेता तथा कार्यकर्तालाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गरी कार्यक्रमस्थलमा आउन आग्रह गरेको छ । संगठनात्मक एकता सुदृढ गर्दै स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन यो भेला महत्वपूर्ण अवसर हुने पार्टीको विश्वास छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शुक्रबार  १० : १२ बजे