२९ कार्तिक २०८३, शनिबार | Sun Nov 15 2026

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा प्रवेश



साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा उक्लिंदै पहिलो क्वालिफायरमा स्थान पक्का गर्न सफल भएको हो। विराटनगरको यस हारसँगै काठमाडौँ गोर्खाज र चितवन राइनोज भने एक खेल अगावै प्लेअफमा पुगेका छन्। लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाएको साविक विजेता लुम्बिनीले विराटनगरले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य १ बल अगावै ६ विकेट गुमाएर भेट्टायो।

टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीविरुद्ध ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६६ रनको योगफल तयार पारेको थियो। विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रनको योगदान दिए। उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। इनिङ्सको दौरान असलंकाले दुई पटक जीवनदान पाएका थिए; व्यक्तिगत ३७ रनमा रुवेन ट्रम्पलम्यान र ४७ रनमा आशिफ शेखले उनको क्याच छोडेका थिए। यसैगरी, शुभम रन्जाने ३१ रन र ओपनर इमरान शेख २४ रन बनाउँदै रिटायर्ड हर्ट भए। अन्य ब्याटरहरूमा लोकेश बमले १५, इसुरु उडाना ६ र सेहान जयसुर्याले १ रन जोडे भने बसिर अहमद ४ रनमा अविजित रहे। लुम्बिनीका लागि किशोर महतोले २ तथा रुवेन ट्रम्पलमेन र अविशेष गौतमले समान १–१ विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीका लागि ओपनर डार्सी सर्ट र आशिफ शेखले पहिलो विकेटका लागि राम्रो सुरुआत दिलाएका थिए। डार्सीले ३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाए भने आशिफले पनि ४१ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४५ रन जोडे। १३ औँ ओभरको क्रममा अपराजित पौडेलले निरोसन डिकवेल्ला र दिलिप नाथलाई आउट गरेपछि लुम्बिनी केही दबाबमा परेको थियो। त्यसपछि क्रिज सम्हालेका कप्तान रोहित पौडेल ९ रनमा रनआउट भए भने अली शेखले २७ रन तथा सन्दीप जोराले २५ रनको महत्वपूर्ण योगदान दिए। अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक रहेको स्थितिमा रुपेश सिंहको पहिलो बलमा नो बल र अली शेखको छक्काले खेल लुम्बिनीको पक्षमा मोडियो। अन्तिम ओभरको चौथो बलमा अली क्याच आउट भएपछि क्रिजमा गएका रुवेन ट्रम्पलमेन (६ रन नटआउट) ले छक्का प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक जित दिलाए। विराटनगरका लागि अपराजित पौडेलले १ ओभरमा ५ रन खर्चेर २ विकेट लिए भने चरिथ असलंका र रुपेश सिंहले १–१ विकेट प्राप्त गरे।

एनपीएलअन्तर्गत भोलि आइतबार दुई खेलहरू हुनेछन्। दिनको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज तथा दोस्रो खेलमा काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौँले पोखरालाई पराजित गरेमा पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ भने प्लेअफ समीकरणबाट बाहिरिसकेका कर्णाली र पोखरा सुखद अन्त्यको खोजीमा हुनेछन्।

प्रकाशित मिति : २९ कार्तिक २०८३, शनिबार  १० : ०० बजे