१ मंसिर २०८३, सोमबार | Tue Nov 17 2026

नोभेम्बर १९ मा सेन्जेनमा सी, ट्रम्प र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय शिखर बैठक हुने



चीनले आफ्ना राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही नोभेम्बर १९ मा सेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने आधिकारिक पुष्टि गरेको छ । यसअघि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मात्र यो भेटवार्ताबारे जानकारी दिएकोमा सोमबार चीनको विदेश मन्त्रालयले संक्षिप्त विज्ञप्ति जारी गर्दै तीन महाशक्तिका राष्ट्रप्रमुखबीच भेटवार्ता हुने जनाएको हो ।

विश्वका तीन प्रमुख शक्तिका शीर्ष नेताहरूबीच हुन लागेको यस बैठकलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा निकै महत्त्वपूर्ण रूपमा हेरिएको छ। यद्यपि, चिनियाँ विदेश मन्त्रालयले बैठकमा छलफल हुने विषय र विस्तृत कार्यसूचीबारे भने थप विवरण सार्वजनिक गरेको छैन।

यो उच्चस्तरीय त्रिपक्षीय भेटवार्ता चीनको गुआङ्दोङ प्रान्तमा आयोजना हुन लागेको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिखर सम्मेलनसँग समेत जोडिएको छ। चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (सीसीपीआईटी) का अनुसार नोभेम्बर १७ र १८ मा हुने उक्त सम्मेलनमा राष्ट्रपति सीसहित अस्ट्रेलिया, क्यानाडा, चिली, हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड र भियतनाम गरी एपेकका १२ सदस्य अर्थतन्त्रका नेताहरूको सहभागिता रहनेछ।

व्यावसायिक क्षेत्र र अमेरिकी कम्पनीको बाक्लो उपस्थिति

‘सँगै समृद्धि हासिल गर्ने र भविष्य जित्ने’ नारासहित आयोजना हुने यस सम्मेलनमा राजनीतिक नेतृत्वसँगै विश्वका ठूला व्यावसायिक संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने सीसीपीआईटीका उपाध्यक्ष ली छिङ्सुआङले जानकारी दिएका छन्। उनका अनुसार फर्च्युन ग्लोबल ५०० सूचीमा रहेका ११५ कम्पनीका कार्यकारीहरू सम्मेलनमा सहभागी हुनेछन्।

मुख्य भूमि चीनबाहिरबाट आउने प्रतिनिधिमण्डलमध्ये अमेरिकी उद्यमहरूको सहभागिता सबैभन्दा ठूलो रहनेछ, जहाँ कुल सहभागी कम्पनीमध्ये करिब २० प्रतिशत अमेरिकी कम्पनी हुनेछन्। साथै, अमेरिका, रुस र जापानका व्यापारिक संघका नेताहरू तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू पनि सम्मेलनमा सहभागी हुँदैछन्।

सम्मेलनका क्रममा सरकारी नीति र निजी क्षेत्रका व्यावसायिक प्राथमिकताबीच समन्वय बढाउँदै आपूर्ति शृंखलालाई भरपर्दो बनाउने, क्षेत्रीय व्यापारिक प्रक्रिया सहज तुल्याउने तथा डिजिटल र हरित अर्थतन्त्रमा संयुक्त लगानी विस्तार गर्ने विषयमा केन्द्रित रहेर छलफल हुनेछ। यसैबीच, नेताहरूको शिखर सम्मेलनका लागि निजी क्षेत्रका नीतिगत सुझाव तयार पार्न एपेक व्यापार सल्लाहकार परिषद्को चौथो बैठक नोभेम्बर १४ देखि नै सेन्जेनमा सुरु भइसकेको छ।

प्रकाशित मिति : १ मंसिर २०८३, सोमबार  १० : ४४ बजे