३ मंसिर २०८३, बुधबार | Thu Nov 19 2026

महेन्द्रनगर हवाई प्रवेश विन्दुका लागि नेपालको जोड, भारत सहमति नजिक



काठमाडौं । भारत जनकपुर र भैरहवाबाट हवाई प्रवेश विन्दु (एयर रुट) दिन तयार भए पनि नेपालले भने महेन्द्रनगरको एयर रुट पाउनुपर्ने अडान राखेको छ । सरकारी अधिकारीहरूका अनुसार महेन्द्रनगरको रुट उपलब्ध गराउने विषयमा भारत सहमति नजिक पुगेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आगामी मंसिर ६ गतेदेखि सुरु हुने भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै नेपाली अधिकारीहरूले एयर रुटको विषयलाई मुख्य एजेन्डा तथा प्रतिष्ठाको विषय बनाएका छन् । विगत १२ वर्षदेखि नेपालले पश्चिमतर्फबाट काठमाडौं आउने अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगरको हवाई मार्ग माग गर्दै आए पनि भारतले टार्दै आएको थियो । यस पटक भने भ्रमणअघि नै सहमति जुटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) मंगलबार नयाँ दिल्ली पुग्नुभएको छ । यसअघि गत साता पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले दिल्ली पुगेर भारतीय पक्षसँग छलफल गर्नुभएको थियो ।

छलफलमा सहभागी नेपाली अधिकारीहरूका अनुसार सुरुमा रुट नदिने मनस्थितिमा रहेको भारत अहिले निकै सकारात्मक बनेको छ र उचाइ (अल्टिट्युड) लगायतका प्राविधिक विषयमा छलफल भइरहेको छ । भारतीय पक्ष जनकपुर र भैरहवाको रुट दिन सहमत भइसके पनि पश्चिम नेपालको सीमानादेखिको नेपाली आकाश प्रयोग गर्न पाइने र ‘ट्रान्स एयर रुट’ मार्फत आर्थिक लाभ लिन सकिने भएकाले नेपालले महेन्द्रनगरमै जोड दिएको हो ।

भारतले भने एयर रुटको विषयलाई प्याकेजमा टुंग्याउने प्रस्ताव गर्दै आएको छ । नेपाललाई महेन्द्रनगरको रुट दिँदा पश्चिम बंगालको बागडोगरा र विहारको रक्सौल विमानस्थलमा उडान गर्न नेपाली आकाश प्रयोग गर्न पाउनुपर्ने भारतीय पक्षको प्रस्ताव छ । तर, नेपालले प्याकेजमा सहमति गर्न नसकिने स्पष्ट सन्देश दिएको अधिकारीहरूले बताएका छन् । सैन्य उडान नहुने र आन्तरिक उडान तथा चन्द्रगढी विमानस्थलको सञ्चालनमा अवरोध नपुग्ने गरी बागडोगराबाट व्यावसायिक उडानका लागि भने प्राविधिक सम्भाव्यता हेर्न सकिने नेपाली अधिकारीहरूको धारणा छ । चिनियाँ सीमा नजिक रहेकाले कूटनीतिक चासो हुनसक्ने विषयमा छलफल भए पनि व्यावसायिक उडान मात्र हुने र चिनियाँ आकाश प्रयोग नहुने भएकाले ठूलो अवरोध नआउने आकलन गरिएको छ ।

हाल पश्चिम तथा मध्यपूर्वबाट आउने अन्तर्राष्ट्रिय जहाजहरू सिमराको एकमात्र प्रवेश विन्दुबाट घुमेर आउनुपर्ने बाध्यता छ । जसका कारण हवाई ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्नुका साथै उडान समय २० देखि २५ मिनेटभन्दा बढी लम्बिने र इन्धन खर्च बढ्ने गरेको छ । महेन्द्रनगरको रुट खुलेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी वायुसेवा कम्पनीहरूलाई उडान विस्तार गर्न सहज हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बुधबार  १० : ३४ बजे