जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नै घरमा कुटिएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त्यसयता पहिलोपटक वक्तव्य सार्वजनिक गरेका छन्।
दसैँको फूलपातीका अवसरमा सोमबार (असोज १३) शुभकामना सन्देश जारी गर्दै देउवाले मुलुकका सबै जटिलताको समाधान संविधानभित्रै खोज्नुपर्नेमा जोड दिएका छन्।
“संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ,” सन्देशमा उनले भनेका छन्, “सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षाबमोजिम बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकमा स्थिरता र प्रगति सुनिश्चित हुन्छ।”
देउवाले नेपालमा एकता, शान्ति र समृद्धिको यात्रामा सबैको योगदान आवश्यक रहेको उल्लेख गर्दै दुर्गा भवानीले आत्मबल र बुद्धशक्ति प्रदान गर्न शुभकामना व्यक्त गरेका छन्।
सन्देशमा उनले भदौ २३ र २४ गते भएको घटनालाई “देशको इतिहासमै अल्कपनीय र दुःखद” भन्दै गहिरो दुःख व्यक्त गरेका छन्। उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
देउवाले २४ गतेको प्रदर्शनका क्रममा आपराधिक समूह संलग्न हिंसात्मक गतिविधिबाट राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, दलका कार्यालय, नेताहरूको निवास, सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान र सर्वसाधारणको निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटबाट खर्बौंको क्षति भएको तथ्याङ्क प्रस्तुत गरेका छन्।
“नेपालको इतिहासमा यो अत्यन्त अल्कपनीय र दुःखद घटनाको रूपमा रहन्छ,” उनले भनेका छन्।








