काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्याँसको अभाव अझै कायमै रहेपछि नेपाल आयल निगमले अत्यावश्यक उपभोक्तालाई लक्षित गरी शनिबार विभिन्न बिक्री केन्द्रबाट ६ हजार ८०२ सिलिन्डर ग्याँस वितरण गरेको छ।
निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलबाट विभिन्न ब्रान्डका ग्याँस बिक्री गरिएको हो।
बिक्रीका क्रममा केही ब्रान्डका सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपन उपलब्ध गराई भोलिपल्ट पहिलो प्राथमिकतामा ग्याँस दिने व्यवस्था गरिएको निगमले जनाएको छ।
थप सात स्थानबाट बिक्री हुने
निगमले आइतबार उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्याँस बिक्री–वितरण गर्ने जनाएको छ।
टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्याँस बिक्री हुनेछन्। बुढानीलकण्ठस्थित पशु सेवा शाखा, चापलीबाट नेपाल, एचपी र भानु ब्रान्डका सिलिन्डर बिक्री गरिनेछ।
त्यस्तै, कीर्तिपुरस्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्याँस बिक्री हुने निगमले जनाएको छ।
नयाँ बजारस्थित जुडो हल परिसर तथा नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्याँस बिक्री गरिनेछ। बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका सिलिन्डर उपलब्ध हुनेछन्।
चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद केन्द्रबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्याँस बिक्री–वितरण गरिने निगमले जनाएको छ।
नियमित आयात भइरहेको निगमको दाबी
निगमले एलपी ग्याँसको आयात नियमित रूपमा भइरहेको दाबी गर्दै बिक्री–वितरण सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्याँस बिक्री गर्न आग्रह गरेको छ।
कुनै कारणले ग्याँस प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्याँस खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।
तर, निगमले थप बिक्री केन्द्रमार्फत ग्याँस वितरणको व्यवस्था गरे पनि उपत्यकामा उपभोक्ताले सहज रूपमा ग्याँस पाउन नसकेको अवस्था कायमै छ। पछिल्ला दिनमा बिक्री केन्द्रमा लामो लाइन लाग्ने र मागअनुसार सिलिन्डर नपुग्ने समस्या देखिँदै आएको छ।








