१४ भाद्र २०८३, आइतबार | Mon Aug 31 2026

कृष्णभीरमा पहिरोले सडक बगाएपछि मुग्लिन–काठमाडौं सडक पूर्ण अवरुद्ध, बैकल्पकि बाटो छ?



धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा आइतबार गएको पहिरोले सडक नै बगाएपछि मुग्लिन–काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि उक्त खण्डमा यातायात सञ्चालन ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार पहिरोले सडकको ठूलो भाग बगाएकाले तत्कालै यातायात सञ्चालन गर्न कठिन देखिएको छ । स्थलगत निरीक्षणपछि उनले सडक सञ्चालनमा ल्याउन कम्तीमा एक महिना लाग्न सक्ने बताएका छन् ।

“म आफैं बिहान त्यहाँको स्थलगत निरीक्षणमा गएको थिएँ,” दाहालले भने, “पहिरोको अवस्था हेर्दा सडक सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने देखिन्छ ।”

कृष्णभीरमा सडक नै बगेपछि मुग्लिन हुँदै काठमाडौं जाने सवारीका लागि तत्काल वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । सरोकारवालाले गोरखा हुँदै काठमाडौं जाने वैकल्पिक रुट प्रयोग गर्न सुझाव दिएका छन् ।

गोरखा सदरमुकामबाट बुंकोट–नाम्जुङ–घैरुङ–दुर्वुङ हुँदै सिउरेनीटारबाट बेनीघाट निस्केर काठमाडौं जाने एउटा वैकल्पिक मार्ग रहेको छ । त्यस्तै, गोरखा सदरमुकामबाट नाम्जुङ हुँदै बुंकोटघाट र बेनीघाट निस्कने अर्को मार्ग पनि प्रयोग गर्न सकिने बताइएको छ ।

विशेषगरी पोखरा, गोरखा तथा पश्चिम नेपालबाट काठमाडौं आउने सवारीका लागि यी वैकल्पिक मार्ग उपयोगी हुने सरोकारवालाको भनाइ छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले पहिरोका कारण टुटेको मुग्लिन–काठमाडौं सडक सम्पर्कलाई गोरखा हुँदै जोड्ने प्रयास भइरहेको जानकारी दिए ।

उनका अनुसार छोटो र व्यावहारिक वैकल्पिक मार्ग पहिचान गर्न सडक कार्यालयसँग समन्वय भइरहेको छ । पहिचान भएका सडकको आवश्यक स्तरोन्नति गरी सवारी आवागमन सहज बनाउने तयारी भइरहेको उनले बताए ।

यसैबीच, मुग्लिन–काठमाडौं मुख्य सडक लामो समय अवरुद्ध हुने भएपछि पश्चिम नेपालबाट काठमाडौं आउने तथा काठमाडौंबाट पश्चिमतर्फ जाने सवारीको चाप वैकल्पिक सडकमा बढ्न सक्ने देखिएको छ । सडक सञ्चालनका लागि तत्काल अस्थायी व्यवस्था तथा दीर्घकालीन पुनर्निर्माण दुवै आवश्यक देखिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १० : ४१ बजे