२४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026

चिलिमेको सुरुङमा अझै जीवनको आशा



भोटेकोशीको बाढीका कारण क्षति पुगेको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका श्रमिकहरूलाई जीवितै उद्धार गर्न प्राविधिक तथा उद्धार टोलीहरू पावरहाउस क्षेत्रतर्फ अघि बढिरहेका छन् ।

सुरुङभित्र ९० मिटर दूरी पार गरिसकेको टोलीले अब करिब २०० मिटर अगाडि रहेको मुख्य पावरहाउस पुग्ने लक्ष्यका साथ काम तीव्र पारेको छ । ६० मिटर लम्बाइ, २५ मिटर उचाइ र २० मिटर चौडाइ रहेको पावरहाउसको संरचनागत ढाँचा र लेदोसहितको पानीको तह विश्लेषण गर्दा माथिल्लो भागमा दुईदेखि आठ मिटरसम्म सुख्खा र खुला सुरक्षित स्थान रहेको प्राविधिकहरूको आकलन छ ।

प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार पावरहाउसको माथिल्लो भागमा भान्सा, खाद्यान्न, खानेपानी र पर्याप्त प्रकाश दिने ब्याट्री बैंक रहेकाले श्रमिकहरू त्यहाँसम्म पुग्न सफल भएको भए सुरक्षित रहने बलियो आधार छ ।

सुरुङभित्र पर्याप्त पानी उपलब्ध भएको, न्यूनतम शारीरिक गतिविधि गरी ऊर्जा बचत गर्न सकिने र खाद्यान्नसमेत रहेकाले मानिसहरू लामो समयसम्म जीवितै रहन सक्ने सम्भावना छ । यद्यपि, सुरुङभित्रको अक्सिजनको मात्रा र कार्बन डाइअक्साइडको अवस्थाले मानिसको स्वास्थ्य र जीवित रहने समय निर्धारण गर्ने भएकाले उद्धारलाई अति तीव्र बनाइएको छ ।

उद्धारस्थलमा भोलि (बुधबार) सम्म एक्स्काभेटर पुर्‍याउने गरी पहुँचमार्ग निर्माण भइरहेको छ र हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको छ । सुरुङको डिजाइन र ड्रइङको प्राविधिक अध्ययनका आधारमा पावरहाउसको माथिल्लो भाग सुरक्षित रहेको निष्कर्ष निकालिएकाले सम्पूर्ण टोली सफल र जीवित उद्धारको प्रतीक्षामा खटिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १० : २० बजे