१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, पुस २० मा उम्मेदवारी दर्ता



काठमाडौं– राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि पुस २० गते उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गरिनेछ ।

७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन् । उनीहरुको मतभार भने फरकफरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ ।

दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेपछि २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेर त्यसै दिन निर्वाचन चिह्न प्रदान गरिनेछ ।

राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ ।

यसपटक कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।

नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ ।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ । सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  २ : ०९ बजे