२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

गोर्खा सेनाको युद्ध डायरी “फोकल्यान्ड जर्नल” सार्वजनिक


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

काठमाडौं । बेलायती गोर्खा सेनामा आवद्ध गणेश राई लिखित युद्ध अनुभव संग्रहित किताब “फोकल्यान्ड जर्नल” सार्वजनिक भएको छ । मंगलबार राजधानीको शिल्पी थिएटरमा एक समारोहकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला र वरिष्ठ विश्लेषक झलक सुवेदीले एकैसाथ सार्वजनिक गरेका हुन् ।

खोटाङका राईद्वारा लिखित यो किताब सिपाहीको जीवन सँग सम्बन्धित रहेको, नेपालीको वीरताको गाथा बोकेको, इतिहासको खाँचो पुरा गरेको र युद्धमा जाने सिपाहीको मनोविज्ञान कस्तो हुन्छ भन्ने कुरा समेटी कौतुहलता र जिज्ञासाले भरिएको किताब भएको विश्लेषक सुवेदीले बताए ।
वरिष्ठ साहित्यकार बैरागी काइँलाले डायरीको रुपमा रहेको सूचनामुलक पुस्तकले त्यहाँको भौगोलिक अवस्थाको राम्रोसँग परिचय दिन सकेको, एउटा सिपाहीले समय निकालेर सान्दर्भिक विषयवस्तु समेटेको, सैनिकको मानसिक तनावलाई लेख्न सकेको किताब भएको बताए ।

किताब विरिड एपमा समेत सार्वजनिक गरिएको छ । कथालय प्रकाशनले बजारमा ल्याएको किताबको सम्पादन कान्तिपुर दैनिकका पत्रकार पारशप्रकाश नेपालले गरेका हुन् । १५० पृष्ठको किताबको मुल्य ३२५ रूपैयाँ तोकेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  १२ : १६ बजे