२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

सोलुको सेर्गा प्राविलाई अमेरिकाबाट तीन लाख सहयोग


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

काठमाडौं । भूकम्पले क्षतिग्रस्त सोलुखुम्बुको सेर्गामा रहेको सेर्गा बागम प्राविलाई तीन लाख २५ हजार ५,२५ रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
उक्त रकम एक कार्यक्रमकाबीच हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापा र एभरेस्ट टाइम्सका सम्पादक ङिमा पाख्रिनले विद्यालयका प्रतिनिधि टाकर्म दुरदार्शी समुहका अध्यक्ष दावा शेर्पालाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा समुहका पासाङ शेर्पा पनि सहभागी थिए ।
भूकम्पले क्षतिग्रस्त सेर्गा प्राविले सहयोग पाएकोमा शेर्पाले खुसी व्यक्त गरे । ‘विद्यालयमा जम्मा दुई कोठे भवन थियो, त्यो पनि गत वर्ष आएको भूकम्पले भत्काइदियो,’ शेर्पाले भने, ‘यो रकमले बलियो भवन बन्ने भएको छ ।’ सेर्गा प्रावि सोलुखुम्बुकै दुर्गम गाउँमा रहेको र शिक्षकको अभावमा पढाइसमेत नियमित नहुने उनले दुखेसो पोखे ।

एसोसिएसनका अध्यक्ष थापाले अमेरिकामा किम्फ सञ्चालन गरी सोलुको विद्यालयलाइ सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘न्युयोर्कमा किम्फ प्रदर्शनको जिम्मा लिएर एभरेस्ट टाइम्सले शिक्षामा सहयोग गरेको छ, यो उदाहरणीय काम हो ।’
विद्यालयलाई सहयोग गर्न पाएकोमा एसोसिएसनका अध्यक्ष थापा र एभरेस्ट टाइम्सका सम्पादक पाख्रिनले खुसी व्यक्त गरे । उनीहरुले सहयोग गरिएको रकम सदुपयोग हुने विश्वास व्यक्त गरेका थिए । सम्पादक पाख्रिनले भने, ‘किम्फको सहयोग र विश्वासले सानो सहयोग नेपालसम्म ल्याउन सकेको उल्लेख गरे ।’

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल(किम्फ)को आयोजना र न्युयोर्कबाट प्रकाशन हुदै आएको एभरेष्ट टाइम्स पत्रिकाको सहआयोजनामा न्युयोर्कमा गत जुन ५ मा घुम्ती किम्फ आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा संकलित रकम विद्यालयलाई सहयोग पठाइएको एभरेस्ट टाइम्सका प्रधानसम्पादक आङछिरिङ शेर्पाले बताए । हिमाल एसोसिएसनसँग मिलेर एभरेस्ट टाइम्सले हरेक वर्ष न्युयोर्कमा किम्फ प्रदर्शन गर्दै आएको छ ।
गत वर्ष अगस्ट २९ मा न्युयोर्कमा आयोजित किम्फबाट संकलित १ लाख ८६ हजार ५ सय रुपैया सोलुखुम्बुकै चाँगेस्थान माध्यमिक विद्यालयलाई सहयोग गरिएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ३ : २९ बजे