नेत्र तामाङ
समूद्री सतहदेखि ४२,०० मिटर उचाईंमा रहेको पाँचपोखरी उपत्यका पर्यटनका लागि आकर्षक गन्तव्य हो । यसलाई पहाडी उपत्यका भन्न सकिन्छ । सानो उपत्यकामा पाँचवटा पोखरी रहेका छन् भने त्यसको केही पर शिवपार्वतीको मन्दिर रहेको छ । पाँचवटा पोखरीलाई तामाङहरुले जेठी, माइली, साइँली, काइँली र कान्छीको रुपमा वर्गीकरण गरेका छन् भने हिन्दुधर्मावालम्बीले भैरव, सरस्वती, गणेश, सूर्य र नागकुण्ड नामाकरण गरेका छन् ।
सबैभन्दा ठुलो जेठी पोखरीमा धेरैले फेरो लगाउँछन् । यो अन्यको तुलनामा ठुलो रहेको छ । त्यसभन्दा अलि सानो माइली पोखरीलाई भने झाँक्रीहरुले फेरो लगाउँदैनन् । उक्त पोखरीलाई भूत दहको रुपमा हेरिने र हेर्नै नहुने किवंदन्ती पनि रहेको छ । पछिल्लोपटक भने पाँचपोखरी सुधार समितिले उक्त स्थानमा पनि फेरो लाउन मिल्ने गरी बाटो बनाएको पेम्बा लामा बताउँछन् ।
पाँचपोखरी मन्दिरको स्थापना
पाँचपोखरी मन्दिरको स्थापना २३३५ वर्षअघि सिकारी बुम्बा रुवा वाइबाले स्थापना गरेको पाँचपोखरीमा रहेको शिलालेखमा उल्लेख गरिएको छ । सिकारी बुम्वा सिकार खेल्न जाने क्रममा हिउँ पर्ने ठाउँमा धान रोप्दै गरेको दृश्य देखेपछि उनी नजिक पुग्दा महादेव नै देखिएको र उनले देख्ने वित्तिकै महादेवसहित सम्पूर्ण खेताला त्यहीबाट अलाप भएको उल्लेख गरिएको छ । त्यसपछि ती बुम्बाले सिकारको साथमा ल्याएको कुकुरको घाँटीमा लगाएको घन्टी फुकालेर त्यहाँ मन्दिर स्थापना गरेका हुन् । हालसालै सिकारी बुम्बाले उक्त स्थान देखेको डाँडामा स्तुपासमेत निर्माण गरिएको छ ।
धर्मिक विश्वास
पाँचपोखरी मन्दिर किसानको आस्थाको मन्दिर हो । खेतीपाती असम्भव हुने ठाउँमासमेत धान खेती हुने भनेर एउटा सुन्दर कल्पना किसानहरुलाई दिइएको देखिएको छ । किसानहरु ताजा मकै, काक्रो, दुध लिएर पाँचपोखरीमा चढाउन जान्छन् र खेतीपातीमा उन्नतिको आर्शीवाद माग्छन् । गाईवस्तु दुहुनोहोस, गोठमा गाइवस्तु बढोस भनेर महादेवसँग वर माग्छन् । सन्तान प्राप्ति नभएकाहरु पनि उक्त मन्दिर पुग्छन् । एकादशीदेखि जनैपूर्णिमासम्म जुनसुकै बेला पुगेर पनि एउटा वर मागेमा पुग्ने विश्वास रहदै आएको छ ।