काठमाडा । एमाले नेता लालबाबु पण्डित आत्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष’ लिएर पाठकमाझ आएका छन् ।
नेपालय प्रकाशनले बजारमा ल्याएको किताबमा पण्डितको कथाव्यथा रहेको छ ।
पण्डित मन्त्री बन्ने वित्तिकै ग्रीनकार्ड वा पिआरधारी कर्मचारीमाथि कारबाहीको दण्ड चलाउने घोषणा गरेपछि चर्चामा आएका थिए ।
पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिको मूलधारमा आएका पण्डितले त्यतिबेला लिएका अडान र ब्यक्तगरेका विचारहरु मधेसकै अर्का घेराले उठाइरहेको आवाजसँग बाझिन पुगेको थियो । विभाजनको राजनीति चर्किरहेको बेलामा लालबाबुले समूदायहरुलाई जोड्ने सेतू बन्ने प्रयास गरेका थिए । पण्डितका तत्कालीन भनाइहरुले उनलाई चर्चाको केन्द्रमा ल्याइदिएको थियो ।
यो बाहेक सरल ब्यक्तित्व र सामान्य जीवनशैलीमा रमाउने लालबाबु पण्डितको रंग–ढंगले पनि धेरैलाई आकर्षित गरिदियो । साइकल वा ट्याम्पुमा यात्रागर्ने यी हँसमुख व्यक्तिका बारेमा थप जिज्ञासा जनसाधारणमा पैदा भयो ।
यसरी राजनीतिक जीवनलाई सत्ताको चरित्र बदल्ने संघर्षका रुपमा परिणत गरेका उनै लालबाबुका तिनै रोचक भोगाइहरु यस आत्मकथामा समेटिएको प्रकाशकले जनाएको छ ।
‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरु धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर जीवनी प्रकाशन गर्ने निधोमा पुगेका हौं,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन, ‘यसले नेपाली राजनीतिको जटिल समयमा पनि संभावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउने छ ।’
पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् ।
‘पहिलोपटक मन्त्री बन्नेबित्तिकै जताततै भद्रगोल मात्र देख्न थालेँ,’ पण्डित भन्छन, ‘त्यतिबेलै सबैभन्दा पहिले मैले आफूलाई बदल्ने संकल्पका साथ काम सुरुगरेको थिएँ ।’
तिनै कामहरुलाई आफूले इमान्दारिका साथ पुस्तकमा राखेको पण्डित बताउँछन् ।
पण्डितलाई समाज परिवर्तन र राष्ट्रप्रति समर्पित सबैखाले मानिसले यो पुस्तक पढ्नेछन् भन्ने विश्वास छ ।
‘यो पुस्तकमार्फत मैले आफू स्वयंलाई कसीमा राखेको छु,’ पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु ।’
पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ ।