काठमाडौँः गोरखा र दोलखामा भूकम्पबाट प्रभावित ४० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। गैरआवासीय नेपाली संघ थाइल्याण्डको पहलमा स्थापना भएको नागरिक छात्रवृत्ति कोषले भूकम्प प्रभावित गोरखा र दोलखा जिल्लाका ४० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो।
कोषको स्थानीय साझेदार नागरिक अभियानको पहलमा गोरखा र दोलखाका २०–२० भूकम्पबाट प्रभावित विपन्न समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कोषका संस्थापक तथा एनआरएन थाइल्याण्डका पूर्वअध्यक्ष खगेन्द्रराज ढकालले जानकारी दिए। गोरखाको बारपाक–सुलिकोट गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय र सिद्धार्थ माध्यमिक विद्यालय तथा दोलखाको कालिञ्चोक गाउँपालिकाको निकोभूमे माध्यमिक विद्यालय र कालिनाग माध्यमिक विद्यालयका ४० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो।
प्रत्येक विद्यालयबाट छनोटमा परेका १० जना का दरले चार विद्यालयका ४० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नागरिक अभियानका अध्यक्ष डा. हीराप्रसाद ढकालले जानकारी दिए। सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ बीचमा अध्ययनरत पिछडिएका समुदायको, भूकम्प वा द्वन्द्व प्रभावित, अपांगता भएका, गरिबीको रेखा मुनि रहेका, अनाथ वा एकल अभिभावक वा अपांगता भएका अभिभावक लगायतका विभिन्न आधारहरूमा उक्त छात्रवृत्ति निर्धारण गरिएको थियो।
शैक्षिक सत्र २०७५ मा कक्षा ९ र कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरी आरम्भ गरिने सो छात्रवृत्ति निज विद्यार्थीहरूले कक्षा १२ सम्म पाउने गैर–आवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष आशाजित अवालेले जानकारी दिए। विद्यार्थीको विद्यालय पोशाक, जुत्ता, खाजा, स्टेशनरी सामग्री र व्यागका लागि निर्धारण गरिएको छात्रवृत्ति वापत प्रति विद्यार्थी प्रति शैक्षिक सत्र १४ हजार ५०० रुपैयाँ पाउनेछन् ।
गैर–आवासीय नेपाली संघ थाइल्याण्डका तत्कालीन अध्यक्ष प्रा. खगेन्द्रराज ढकालको नेतृत्वमा २०७४ सालमा ३५ लाख ८९ हजार ९९९ रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरिएको थियो। अक्षयकोषका लागि रकम बैंककमा ५ दिने नेपाल मेला २०१५, ‘एभरेष्ट बेस–क्याम्प’ नामक किताबको रोयल्टी लगायत विभिन्न कार्यक्रममार्फत संकलन गरिएको थियो ।