- आङदावा शेर्पा –
प्राचीन कपिलवस्तु राज्यको राजा शुद्धोधनको राजदरबार भएको राजधानी शहर तिलौराकोट भएको ऐतिहासिक धार्मिक एवं पुरातात्विक अध्ययन अनुसन्धानबाट प्रमाणित भएको छ । कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवादेखि पाँच किलोमिटर उत्तर पूर्वमा तिलौराकोट रहेको छ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्न अघि २९ बर्षसम्म जीवन बिताएको तिलौराकोट बुद्ध जन्मस्थल लुम्बिनीदेखि २७ किलोमिटर पश्चिममा रहेको छ ।
सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नका निम्ति गृह त्याग गर्नुअघि २९ वर्षसम्म जीवन विताएको र बुद्धत्व प्राप्त गरेपछि आफ्नो जीवनकालमा धेरै पटक भ्रमण गरेको प्रचीन कपिलबस्तु राज्यको राजा शुद्धोधनको राजदरबार रहेको स्थान तिलौराकोट भएको पुरातात्विक अध्ययन, अनुसन्धान र उत्खनन्बाट प्राप्त प्रमाणहरुको आधारमा नेपालको कपिलबस्तु जिल्लाको तिलौराकोट नै प्राचीन कपिलबस्तु राज्यको राजा शुद्धोधनको राजदरबार रहेको राजधानी शहर भएको प्रमाणित भएको हो ।
भारतको उत्तर प्रदेश राज्यको सिद्धार्थ नगर जिल्लास्थित पिप्रहवामा भएको केही पुरातात्विक अवशेषहरुको आधारमा पिप्रहवानै प्राचीन कपिलबस्तु राज्यको राजा शुद्धोधनको राजदरबार भएको राजधानी शहर भएको प्रचार गर्दै आए तापनि ऐतिहासिक, धार्मिक र पुरातात्विक अध्ययन र अनुसन्धानबाट प्राप्त परिणामको आधारमा तिलौराकोट नै प्राचीन कपिलबस्तु राज्यको शुद्धोधनको राजदरबार भएको राजधानी शहर भएकोले नेपालको कपिलबस्तु जिल्लाको तिलौराकोट नै प्राचीन कपिलबस्तु राज्यको राजधानी शहर भएको तथ्यहरुबाट प्रमाणित भएको छ ।
१. चौथो शताब्दीमा चिनियाँ तीर्थयात्री फायानले प्राचीन कपिलबस्तु राज्यको तीर्थयात्रा गरी भगीरथ नदीको किनारमा रहेको शाक्य राजधानी कपिलबस्तुबाट पहाडी रमणीय दृश्यहरु देख्न सकिने आफ्नो यात्रा विवरणमा उल्लेख गरेका थिए । अहिले बाणगंगा नदी किनारमा प्रचिन कपिलबस्तु राज्यको राजधानी शहर ‘तिलौराकोट’ रहेको छ । पिप्रहवा नजिकमा कुनै पनि नदी बगेको छैन ।
२. चौथो शताब्दीको अन्ततिर प्राचीन कपिलबस्तुको तीर्थयात्रा गरेका फायानले प्राचिन कपिलबस्तु राज्यको राजधानी रहेको राजा शुद्धोधनको राजदरबारदेखि ५० लि पूर्वमा सिद्धार्थ गौतम बुद्धको जन्म स्थल लुम्बिनी रहेको उल्लेख गरिएको छ । प्राचिन कपिलबस्तु राज्यको राजधानीको राजा शुद्धोधनको राजदरबार भएको स्थान तिलौराकोट देखि २७ किलोमिटर पूर्वमा बुद्ध जन्मस्थल लुम्बिनी रहेको छ ।
३. सातौं शताब्दीमा चिनीया तीर्थयात्री ह्वेङसाङले प्राचीन कपिलबस्तु राज्यको तीर्थयात्रा गरी समृद्ध कपिलबस्तुको राजधानीबाट रमणीय पहाडी श्रृखंलाहरु भएको र उत्तरतिर हिमालय पर्वतको श्रृखंलाहरु भएको यात्रा विवरणमा उल्लेख गरेको पाइन्छ । तर पिप्रहवाको उत्तरतिर हिमालय पर्वत रहेको पाईदैन ।
४. चिनियाँ तीर्थयात्री ह्वेङ साङले शाक्यमुनि बुद्धभन्दा पहिले कपिलबस्तु राज्यमा क्रकुद्धन्द बुद्ध र कनकमुनि बुद्धको जन्म भएको उल्लेख गरेका छन् । कपिलबस्तु जिल्लाको गौटीहवामा क्रकुद्धन्द बुद्ध र कपिलबस्तु जिल्लाकै निग्लीहवामा कनकमुनि बुद्धको जन्म स्थलको स्मरण गर्दै सम्राट अशोकले ईशापूर्व २४९ मा दुईवटा ढुंगाको छुट्टा छुट्टै स्तम्भहरु निर्माण गरेको थिए ।
५. चिनीया तीर्थयात्री ह्वेङ साङले शाक्यमुनि गौतम बुद्धले सबैभन्दा धेरै बर्षाबास गर्नु भएको श्रवस्ती देखि ५०० लि पूर्वमा प्राचीन कपिलबस्तु राज्यको राजधानीको राजा शुद्धोधनको राजदरबार रहेको उल्लेख गरेका थिए ।
६. चिनियाँ तीर्थ यात्रीहरु फायान र ह्वेङसाङले प्राचिन कपिलबस्तु राज्यको राजदरबारको चारैतिर मोटा पर्खालहरुले घेरीएको पूर्वीद्वार र पश्चिमीद्वार भएको उल्लेख गरेको पाईन्छ । अहिले तिलौराकोटमा प्राचिन कपिलवस्तु राज्यको राजदरबारको पुर्वीद्वार र पश्चिमीद्वार उत्खनन गरी संरक्षण गरिएको छ ।
७. शाक्यमुनी गौतम बुद्धले म त्यही स्थानमा हुर्के जहाँबाट हिमालय पर्वतको दृश्य अवलोकन गर्न सकिन्छ भनी बौद्ध धर्म ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । तिलौराकोटबाट धौलागिरी हिमालका श्रृखलाहरु देख्न सकिन्छ तर पिप्रहवाबाट हिमालय पर्वतको श्रृखला देख्न पाईदैन ।
८. शाक्यमुनी सिद्धार्थ गौतम बुद्धको माता मायादेवी र पिता शुद्धोधनको स्मरणमा दुई वटा स्तुपाहरु राजा शुद्धोधनको राजदरबार नजिक निर्माण गरेको थियो । बुद्धमाता मायादेवी र बुद्धका पिता शुद्धोधनको स्मरणमा बनाएको स्तुपाहरु तिलौराकोटमा उत्खनन् गरी संरक्षण गरिएको छ । तिलौराकोटमा उत्खनन् गरी संरक्षण गरिएको जुम्ल्याहा स्तुपाहरुलाई बौद्ध धर्मवलम्वीहरुले अत्यन्तै पवित्र स्तुपाहरुको रुपमा लिँदै आएको छ । पिप्रहवामा यस प्रकारको स्तुपाहरु देखिएको छैन ।
९. जर्मन पुरातत्वविद् एलोसिस फुहररले सन १८९५ मा प्राचीन कपिलबस्तु राज्यको राजदरबार भएको तिलौराकोटको अध्ययन अनुसन्धान गरेका थिए । त्यस्तै कर्णेल बार्डेनले सन १८९८ मा प्राचिन कपिलबस्तुको राजधानी शहर तिलौराकोटको अध्ययन अनुसन्धान गरेका थिए ।
१०. उन्नाईसौ शताब्दीमा भारतीय पुरातत्वविद डा. पिसी मुखर्जीले प्राचिन कपिलबस्तु राज्यको राजधानीको राजा शुद्धोधनको राजदरबार भएको स्थान तिलौराकोट भएको अध्यन अनुसन्धान र उत्खननबाट प्रमाणीत भएको हो । डा. पिसी मुखर्जे सन् १८९८ र १८९९ मा तिलौराकोटमा गरेको उत्खननबाट ईसापूर्व आठौ शताब्दी देखि तेस्रो शताब्दी समयका पौराणिक मुद्रा, भाडा, खेलौनाहरु, गहनाहरु र अन्य मानव निर्मित पुरातात्विक सामानहरु कपिलबस्तु संग्रहलयमा राखिएको हुदा तिलौराकोट नै प्राचिन कपिलबस्तुको राजधानी शहर भएको प्रमाणित भएको छ ।
११. सन् १९६२ मा भारतीय पुरातत्वविद देवला मिश्रले तिलौराकोटको उत्तर पश्चिमको पर्खालको उत्खनन गरेका थिए । उत्खनन् बाट ईसा पूर्व आठौं शताब्दी भन्दा अघिका भाडा, चादी र तामाका मुद्राहरु, सुन चादीका गहनाहरु प्राप्त भएकोले तिलौराकोट नै कपिलबस्तु राज्यको राजधानी शहर पुष्टी भएको छ ।
१२. सन् १९६७ देखी १९७४ सम्म पुरातत्व विभागबाट तारा नन्द मिश्र र बाबु कृष्ण रिजालले तिलौराकोटमा गरेको उत्खनन् कार्यले तिलौराकोट नै प्राचिन कपिलबस्तुको राजधानी शहर भएको पुष्टी हुन्छ ।
१३. सन् १९७६ देखि १९७८ सम्ममा जापानको रियो विश्वविद्यालय को सहयोगमा तिलौराकोटमा भएको पुरातात्विक उत्खननले पनि तिलौराकोट नै प्राचिन कपिलबस्तु राज्यको राजधानी शहर भएको पुष्टी गर्दछ ।
१४. सन् २०१३ मा पुरातत्व विभाग लुम्बिनी विकास कोष युनेस्को र बेलयतको दुई विश्वविद्यालयको पुरातत्वविदहरुबाट संयुक्त रुपमा प्राचिन कपिलवस्तु राज्यको राजा शुद्धोधनको राजदरबारको मुख्य भाग फेला पार्न चौथोपटक तिलौराकोटमा उत्खनन कार्य सम्पन्न भएको छ ।
१५. सन् २०१४ मा जापानी नागरिक कासाईको सहयोगमा तिलोराकोटमा भएको पुरातात्विक उत्खननको परिणामबाट तिलौराकोटनै प्राचिन कपिलबस्तु राज्यको राजा शुद्धोधनको राजदरबार भएको राजधानी शहर प्रमाणित भएको हो ।
माथि उल्लेखित एतिहासिक, धार्मिक र पुरातात्विक उत्खनन्हरुको आधारमा ’तिलौराकोट’ नै प्राचीन कपिलबस्तु राज्यको राजा शुद्धोधनको राजदरबार भएको प्राचिन कपिलबस्तु भएकोले तिलौराकोटलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गरिनु पर्दछ ।