काठमाडौं । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलको सोह्रौं संस्करण मंसिर २१ गतेदेखि सुरु हुँदैछ । ‘वुमन मुभ माउन्टेन्स’ नारा रहेको फेस्टिभलमा देखाइने फिल्मको सूची सार्वजनिक भइसकेको छ । यस वर्ष ३१ वटा देशका ७० भन्दा बढी फिल्म देखाउने आयोजक संस्थाले जनाएको छ । चार वर्षयता कुमारी हलमा हुँदै आएको फेस्टिभल योपटक देखि पुनः राष्ट्रिय सभा गृहमा हुने भएको छ । सन् २०१४ मा नेपालमा भएको १८ औं सार्क समिटका कारण राष्ट्रिय सभा गृहमा हुँदै आएको किम्फ कुमारी हलमा सारिएको थियो ।
त्यसपछि सभा गृह सञ्चालन सम्बन्धी विवाद र पुनः निर्माणका कारण त्यहाँ किम्फ हुन सकेको थिएन । ‘हामी पुरानै ठाउँमा फर्कन पाएकोमा खुशी छौं । सभा गृह हाम्रो लागि लोकेसन र स्पेसको हिसाबले निकै सहज हुनेछ’, किम्फका अध्यक्ष वसन्त थापाले भने । उनले ठाउँ फेरिएपनि व्यवस्थापन र गुणस्तरमा सम्झौता नगर्ने दावी गरे ।
अस्ट्रेलियाका निर्देशक जेनिफर पिडमको डकुमेन्ट्री ‘माउन्टेन’को प्रदर्शनबाट महोत्सवको सुरुवात हुनेछ । उक्त डकुमेन्ट्री बाफ्टामा मनोनित भएको थियो । महोत्सवमा नेपाली ट्राभलर्ससँग मिलेर ‘ट्राभल इज एन एटिच्युड’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता हुँदैछ । जसमा ३५ वर्षमूनिका युवाहरु सहभागी हुन पाउनेछन् । पाँच दिन लामो महोत्सवमा जुरीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रहेका १४ फिल्म र नेपाली पानोरमा अन्तर्गतको २० वटामध्यबाट ३, ३ वटा वृत्तचित्र र कथानक चलचित्र चयन गर्नेछन् ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशः १५ सय, एक हजार र पाँच हजार अमेरिकी डलर दिइनेछ । त्यस्तै नेपाली पानोरामा अन्तर्गतका वृत र कथानक चलचित्र विधामा उत्कृष्ट घोषित हुने दुई फिल्मले क्रमशस् नेपाली रुपैयाँ एक लाख र पचहत्तर रुपैयाँ पाउनेछन् । उत्कृष्ट पर्वतीय फिल्मलाई एक हजार अमेरिकी डलर, उत्कृष्ट साहसिक फिल्मलाई एक हजार अमेरिकी डलर र दर्शक भोटमार्फत उत्कृष्ट ‘अडियन्स अवार्ड’मा परेको फिल्मलाई ५० हजार रुपैयाँ प्रदान गर्दैछ ।
महोत्सवमा फिल्म प्रदर्शन बाहेक छलफल, संवाद, व्याख्यान, फोटो प्रदर्शनी पनि राखिने बताइएको छ । जसअन्तर्गत् अस्ट्रेलियन फिल्मकर्मी जेनिफर पिडम र नेपाली फिल्मकर्मी केसाङ छेतेनद्वारा संयुक्त रुपमा ‘मास्टर क्लास’ संचालन हुनेछ । त्यस्तै ‘किम्फ डक लाइभ पिच’ र ‘वुमन इन फिल्म एण्ड फेस्टिभल’ विषयमा कार्यशाला हुनेछ ।
महिला शक्ति सम्बन्धी नारा रहेको महोत्सवमा ३० प्रतिशत् फिल्म महिला निर्देशकको रहेको आयोजक रम्यता लिम्बुले जानकारी दिइन् । भनिन्, ‘महिलाहरुको उत्सहाजनक सहभागिता र महिला निर्देशकको बढ्दो सङ्ख्याले सकारात्मक संदेश प्रवाह गर्छ ।’ पौलोमी बासुको ‘ब्लड स्पिक्स अ रिच्युएल अफ एक्जाइल’ र उमा विष्टको ‘आइ एम प्योर’ शीर्षकमा फोटोहरु राखिनेछ । फिल्महरु मंसिर २१ गतेदेखि २५ गतेसम्म राष्ट्रिय सभा गृह र नेपाल पर्यटन विकास बोर्डमा देखाइनेछ ।