४ असार २०८२, बुधबार | Thu Jun 19 2025

मेरो प्रतिस्पर्धा ‘तक्मे बुढा’सँगै हो, तक्मेको ड्रेस लगाउँदा शक्ति आउँछ: विल्सनविक्रम राई


२३ पुस २०७५, सोमबार  

0
Shares

विल्सनविक्रम राई चर्चित हास्य कलाकार हुन् । मेरी बास्सै टेली शृंखलामार्फत ‘तक्मे बुढा’को भूमिकामा देखिएपछि उनी चर्चाका शिखरमा छन् । यही भूमिकामा प्रस्तुतिका लागि राई देशविदेशमा स्टेज शोका लागि दौडाहमा हुन्छन् ।

दर्जन चलचित्रमा अभिनय गरिसकेको राईले गायनमा पनि उतिकै सक्रिय छन् । सुम्निमा साँझको अवसरमा न्युयोर्क आइपुगेका उनै कलाकार विल्सनविक्रम राई ‘तक्मे बुढा’सँग आङछिरिङ शेर्पाले गरेको कुराकानीको सम्पादित अंश

पर्दामा बुढा देखिने तपाई निकै जवान देखिनुहुँदो रहेछ नि ?
दारी काटे त मलाई स्कुलै पठाउँछन् होला जस्तो लाग्छ । म अझै यङ नै देखिनुपर्ने हो, दारी पालेकोले अझै म बुढो देखिरहेको छु । कथाले मागेकोले दारी पाल्नुप¥यो । म टिभीमा देखिएको जति बुढो पनि छैन । आफैले भने जति यङ पनि छैन जस्तो लाग्छ ।

कलाकारिताकै क्रममा धेरै देश पुग्नु भयो, कस्तो अनुभव सँगल्नुभयो ?
सबैतिर जाँदा पनि हामीलाई पर्खने आँखाहरु नेपाली संस्कृतिले गाँसेको पाईयो । जता पुगेपनि उही किसिमको स्वागत, उस्तै माया पाइएकोले जता पुगे पनि उस्तै लाग्छ । कही कतै जाँदा आफूले सोचेकोभन्दा फरक स्वागत सत्कार पाउँदा झनै मजा लाग्छ । रमाईलो लाग्छ । न्युयोर्कको चिसो मौसममा न्यानो न्यानो मायाका साथ आयोजक र नेपाली दाजुभाई दिदीबहिनीले स्वागत गर्नुभयो । यसले झनै खुसी लाग्यो ।

कलाकारिता कहिलेबाट शुरु गर्नुभयो ?
सानै उमेरदेखि नै कला क्षेत्रमा आएजस्तो लाग्छ । ८÷९ वर्षको उमेरदेखि नै नाच्न गाउन थालिसकेको थिएँ ।साथी चलचित्रबाट अभिनय यात्रा शुरु भयो । सानो भूमिकामा थिए । त्यसपछि चलचित्रप्रति झुकाव बढ्दै गयो । सानो रोलमा धेरै फिल्ममा खेले । लिड रोलमा दुई दर्जन जतिमा काम गरे । सिरियल ५÷१० वटामा गरे ।

गायन, सिनेमा, कमेडी सबैमा पोख्त हुनुहुन्छ, कुनलाई प्राथमिकता दिनुहुन्छ ?
म आफ्नो माइन्डलाई फ्रि राख्दिनँ । तैपनि सन् ०१६ र ०१७ मा सिनेमा गरिनँ । ०१८ मा ६ वटा सिनेमा गरें । १९ का लागि ४ वटा साइन गरें । स्टेजमा काम गरिरहेको छु । अलिअलि म्युजिक भिडियो गरेको छु । राम्रो गीत गाउने होइन । ट्राइ गरौ न भन्ने हिसाबले गीत गाउछु । एल्बमलाई नै ल्याउन आँट पनि छैन गाँठ पनि छैन । त्यसैले प्राथमिकता कमेडी नै हो । सामाजिक विषयमा केन्द्रित हुन्छ । विशेष गरी सामाजिक व्यङ्ग्य गर्छु ।

कमेडीमा लाहुरेलाई मात्र फोकस गर्नुभयो नि ?
मेरो कम्पिटिसन तक्मे बुढासँग भइरहेको छ । तक्मे बुढाकै कारण म यहाँसम्म आइपुगेको छु । यो बिग ब्रान्ड भयो । विभिन्न भूमिकामा काम गरें । तेस्रो लिंगीको भूमिकामा पनि देखिए । विश्वमा चिनाउने सगरमाथा, गौतम बुद्धजस्तै गुर्खा पनि हो । छातीमा तक्मा भिरेको मान्छेले युद्धकै कुरा नसुनाएपनि विभिन्न कथा सुनाएका हुन्छन् । उहाँहरु विभिन्न ठाउँ पुगेका हुन्छन् । सेयर गर्न मन लाग्छ । १९४० को युद्धको कथा सुनाउन मन गर्छन् । साहसी वीर गुर्खाहरको प्रतिबिम्बा हो ।
ओरिजिनल तक्मे बुढा भन्ने हाम्रो पिता पुर्खा नभएको भए कहाँबाट तक्मे बुढा आउँथ्यो । यो कुनै छिमेकी राष्ट्रबाट प्रभावित भएर नक्कल गरेको होइन । यो माटोको कथा हो । माटोले जन्माएको कथा हो । इमान इज्जत र प्रेस्टिजको कथा हो । क्यारेमचेस खेलेर बनाएको कथा होइन । यसले अपन्वत फिल हुन्छ । गुर्खा भन्ने नाम दियो । माटो सुहाउँदो कथा छ ।

गुर्खाहरुले के भन्नुहुन्छ ?
उहाँहरुले बेस्सरी माया गर्नुहुन्छ । मेरो एजमा पनि मैले सिनियर सिटिजन बन्न पाएको छु । एकपटक ‘के छ नम्बरी ?’ भनेर मलाई बोलाउनुभयो एकजनाले । नम्बरी भनेको चाहि आफ्नै ब्याजीलाई सम्मान गरेर बोलाइन्छ । म त उहाँको नम्बरी त होइन तर उहाँले मलाई यस्तो सम्मानका साथ बोलाउनुभयो । कस्तो खुसी लाग्यो । प्रधानमन्त्री केपी ओलीलेसमेत मलाई के छ नम्बरी भनेर बोलाउनुहुन्छ । एकदमै खुसी लाग्छ । दर्शकश्रोताले माया गर्नुृभएको छ ।

तक्मा र पहिरन चाहि कसरी पाउनुभयो ?
पहिले त बाजेहरुकै लगाएको थिएँ । त्यो धेरै बेर लगाउन मिल्दैन पनि । हरायो भने त यस्तो गजबको चिज बर्बादै हुन्छ भनेर पछि अक्सनमा लिए । त्यो कपी जस्तै हो । यही ड्रेस लगाएर गर्मी ठाउँमा पनि प्रस्तुति दिनुपर्छ । एकदम बाक्लो छ । तैपनि यो मेरो लागि स्पाइडरम्यानको पावरवाला ड्रेस जस्तै हो । यस ड्रेसमा शक्ति छ ।

भावी योजना के छन् ?
दर्शकश्रोताले तेस्रो लिंगीको भूमिका पनि हेर्न मन पराउँनुभएको छ । हेरौ यसमा पनि काम गर्ने विचार गरिरहेको छु । युटुबमा फुर्के नम्बर वान चालिरहेको छ । १७ इपिसोडमा पुगेको छ । अरु कामहरु पनि गर्दै जानेछु । स्क्रिनमा धेरैले माया गर्नुहुन्छ । धुलोबाट उठ्दै गरेको मान्छे हो म । संघर्ष गरिहेको मान्छे हो । टिभीमा लाइट, क्यामेरा र इडिटिङको कमाल हो । जीवनमा धेरै कुरा गर्न बाँकी नै छ । यात्रा जारी छु ।

तक्मे बुढाको विवाह भइसकेको हो ?
विल्सन विक्रम अविवाहित छ । तक्मे बुढा भन्ने धेरै भए । मेरो बुढा भन्ने एकजना पनि भएनन् ।

प्रकाशित मिति : २३ पुस २०७५, सोमबार  ९ : ५१ बजे