१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

होलीमा मस्त अनि व्यस्त हुन्छुः सुशीला पाठक, गायिक


५ चैत्र २०७५, मंगलबार  

0
Shares

झापाकी सुशीला पाठकको लेटेस्ट गीत हो ‘ह्याप्पी होली’ । होली नजिकिएको छ । यही होली पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको उनको गीत अहिले चर्चामा छ । प्राय गीतमा आफै मोडलिङमा उत्रने उनी यस गीतको भिडियोमा भने देखिएका छैनन् ।

गीतमा उनलाई श्रीहरि दाहालले साथ दिएका छन् । गीतमा रुपेश बास्कोटाको शब्द र संगीत रहेको छ ।

छ वर्षयता सांगीतिक क्षेत्रमा व्यस्त हुन थालेकी पाठक कमर्सकी विद्यार्थी हुन् । उनको लोकपप, तीज गीत, तिहार गीतलगायत गरी ४० गीत बजारमा आइसकेको छ । सप्तरंगी एल्बम सार्वजनिक गरी सांगीतिक क्षेत्रमा डेब्यु गरेकी उनी शिलाबहादुर मोक्तान, करणराज कार्की र मनोजराज शिवकोटीसँग संगीत सिक्दैछिन् । उनै गायिका सुशीला पाठकसँग उनको सांगीतिक यात्राबारे एभरेस्ट टाइम्सले गरेको कुराकानीः

होली कसरी मनाउँदै हुनुहुन्छ ?
होलीलाई नै लक्षित गरी नयाँ गीत हालै सार्वजनिक गरेकी छु । यही गीतको प्रचारमा पनि व्यस्त छु । होली आउनु एकहप्ता अघिदेखि नै गीत प्रस्तुतिका लागि विभिन्न स्टेजमा पुग्न व्यस्त भएकी छु । रेडियो, टिभीमा जानु परिरहेको छ ।

होलीकै दिन रमाइलो टिभी, इमेज टिभी, एपी वान, प्राइम, जनता टिभीमा कार्यक्रमको निम्तो आएको छ । सबैमा पुग्ने कोशिश गरेकी छु । यता बिएसबिएफ रेडियोले पनि बोलाएको छ । होलीमा मस्त, व्यस्त हुने भएको छ ।

कुन कुन गीत गाउनुहुन्छ होली स्टेजमा ?
पहिलो प्राथमिकता त ह्याप्पी होली नै हो । त्यसपछि सानीलाई र देशै खानी भई पनि गाउँछु । यी तीन गीत अहिलेका स्टेजमा छुटाउँदिनँ ।

अरु गीतलाई किन हेला ?
मैले बढीजसो चाडपर्व लक्षित गीतहरु गाएकी छु । अरु पर्वका गीत यहाँ गाएर त भएन नि । फेरि कार्यक्रममा एक्लै गाउने पनि होइन ।

तपाईलाई गाउन मनपर्ने गीतको विधा चाहि के हो ?
लोकपप, फिल्मी, आधुनिक गीत मनपर्छ । साथमा चाडपर्व विशेष गीतहरु छँदै छन् । चाडपर्व विशेष गीतहरुले संस्कृतिको पनि प्रवद्र्धन भइरहेको हुन्छ नि ।

गीत गाउन विदेश यात्रा पनि शुरु भइसक्यो होला ?
देशका विभिन्न ठाउँ पुगिरहेकै छु । महोत्सवहरुमा धेरै निम्तो आइरहन्छन् । विदेशमा भने भारत र थाइल्यान्डमात्र पुगेकी छु । निम्तो आउने क्रम छ । विस्तारै अरु देशमा पनि जान पाइएला नि ।

गायनमा कसरी लाग्नुभयो ?
सानैदेखि नाच्ने गाउनेतिर इन्ट्रेस्ट । स्कुलमा पनि यस्तै काममा बढी ध्यान गयो । टेलिभिजनमा कसरी आउने भनेर सोचिरहन्थे । त्यही सपनाले यहाँसम्मको यात्रा तय भयो ।

पहिलो एल्बम के थियो ?
मेरो पहिलो एल्बम सप्तरंगी हो । एक वर्षअगाडिमात्र विमोचन भएको । यसमा पाँच गीत छन् ।

परिवारको सहयोग कस्तो छ ?
हाम्रो परिवारमा सांगीतिक क्षेत्रमा कोही हुनुहुन्छ । म यही क्षेत्रमा आएकोमा बाआमा खुसी हुनुभएको छ । अहिलेसम्म जुन प्रगति भइरहेको छ, परिवारकै सहयोगबाट भइरहेको छ ।

अरुको पनि सहयोग पाइरहनु भएको छ कि नि ?
धेरैले गीत गाउन दिएर सहयोग गर्दै आउनुभएको छ । अमेरिकाबाट अम्बिका गुरुङ, कुमार शिवकोटी, विमला निरौलालगायतले सहयोग गर्नुभएको छ । बेलायतबाट दीपकराज गुरुङले सहयोग गर्नुभएको छ । देशविदेशमा रहनुभएका नेपालीहरुले गीत सुनेर साथ दिइरहनुभएको छ । यही नै ठुलो विषय हो नि हैन ।

मोडलिङ पनि गर्नुहुन्छ, गायनबाहेक अरु पेशामा आबद्ध हुनुहुन्छ कि ?
मोडलिङ पनि सोख हो मेरो । त्यसैले यसमा पनि प्रयास गरिरहेकी छु । विद्यार्थी भएकीले अहिले गायनबाहेक अरुमा काम गरेकी छैन । छिट्टै व्यवसाय पो शुरु गरौ कि जस्तो पनि लागिरहेको छ । समाजसेवामा पनि लागिरहेकी छु ।

गायनमा प्रशस्त आम्दानी हुन्छ, सहयोग त्यतिकै पाइन्छ, किन व्यवसाय शुरु गर्ने नि ?
यो त धेरै वर्ष लाग्नेहरुमा लागू हुन्छ । हामी त भर्खर लागेको हो । त्यसैले गायनबाहेक फूर्सदमा कफी पसल चलाउने योजना बनेको छ । हेरौ के हुन्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ९ : ५२ बजे