१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

न्युयोर्कमा नेपाल डे परेडसँगै बुद्ध जयन्ती र सगरमाथा दिवस मनाइँदै : सहभागिताका लागि कन्सुलेटको आह्वान


२७ बैशाख २०७६, शुक्रबार  

0
Shares

न्युयोर्क । मे १९ मा हुने नेपाल डे परेडमा उत्साहपूर्वक रुपमा सहभागी हुन नेपाली महाबाणिज्यदूतावास, न्यूयोर्कले आग्रह गरेको छ । कन्सुलेटले एक विज्ञप्ति जारी गर्दै गौरवशाली पहिचानका लागि उपस्थिति जनाउन सबैलाई आह्वान गरेको हो ।

त्यसैगरी बुद्ध जयन्ती र सगरमाथा दिवसमा पनि सहभागी हुन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र हामी नेपालीका लागि अत्यन्त महत्व राख्ने बुद्ध जयन्ती (मे १८, २०१९) तथा सगरमाथा दिवस (जुन २, २०१९) न्यूयोर्कमा नै आयोजना हुन गइरहेको सन्दर्भमा पनि उक्त दुबै कार्यक्रममा आम नेपाली दाजुभाइ दिदीबहिनीहरु सहभागी भइदिनु हुन कन्सुलेट अनुरोध गर्दछ ।’

प्रवासमा नेपाल र नेपालीको पहिचान गराउने, आफ्नो जन्मभूमिको पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाली-नेपालीबीच भ्रातृत्व र एकता कायम गर्ने सन्दर्भमा नेपाल डे परेडको अत्यन्त अहम् र सकारात्मक भूमिका रहेको उल्लेख गर्दै कन्सुलेटले डायस्पोरामा राष्ट्रिय पहिचानका लागि परेड एउटा उत्सव र पर्वको रुपमा नै लिएको जनाएको छ ।

‘सिङ्गो डायस्पोराको नजर रहेको अमेरिकाको न्यूयोर्कमा हुन गइरहेको परेडमा बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक नेपाल र नेपालीको गौरबशाली पहिचानका लागि आफ्नो कला, संस्कृति, भेषभुषा र परम्परा झल्कने झाँकी प्रदर्शन गर्दै यस परेडलाई पनि विगतमा झै भब्य र सभ्य बनाई आम नेपालीहरुको सुदृढ एवं सबल उपस्थिति जनाइदिन नेपाली संघसंस्थाहरु तथा आम जनसमुदायमा नेपाल कन्सुलेट आव्हान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘न्यूयोर्क तथा आसपासमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुको उत्साहपूर्वक एवं उल्लासपूर्वक सहभागितामा नेपाल डे परेड सम्पन्न हुनेमा कन्सुलेट विश्वस्त छ ।’

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ५ : १० बजे