९ असार २०८२, सोमबार | Tue Jun 24 2025

कहीं नभएको गाईजात्रा: मन्त्रिपरिषद् बैठकको भिडियो कन्फ्रेन्समा


१९ भाद्र २०७६, बिहिबार  

0
Shares

नेत्र तामाङ-

केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भएको पहिलो काम हो – मन्त्रिपरिषद बैठकका निर्णय लुकाउने काम । ‘निर्णय परिपक्व’ बनाउने नाममा मन्त्रिपरिषद्का निर्णयहरुलाई सरकारका प्रवक्ताले सातामा एक दिनमात्रै सार्वजनिक गर्ने थालनी सूचना लुकाउने रणनीतिअनुसार नै सुरु भएको मानिन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद्को निर्णय यसअघिका सरकारले बैठक सकिनसाथ सार्वजनिक गर्थे मिडिया मार्फत् ।

प्रधानमन्त्री ओली सत्तामा गएको केही दिनपछि नै बैठकको निर्णय बासी राख्न थालियो । अनि बालुवाटारमा बस्ने बैठकको निर्णय बिहीवारमात्र सिंहदरबारबाट सार्वजनिक गर्न थालियो ।

जनताले पाउनुपर्ने ताजा निर्णयहरु ढिलो गरी दिन थालेको सरकारले गरेको पछिल्लो तमासा बनेको छ – पछिल्लो मन्त्रिपरिषद बैठक ।
प्रसंग हो, भिडियो कन्फ्रेन्सबाट भएको क्याबिनेट मिटिङको ।

स्वास्थ्यमा समस्या देखिएपछि दोस्रो पटक भदौ ५ गते सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ८ गते भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरे । बैठक सफल भएको भन्दै प्रधामन्त्री ओलीले उक्त दिन खुसी व्यक्त गर्दै प्रविधिलाई धन्यवादसमेत दिए । उक्त बैठकको फोटो राखेर प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् सोही दिन भने, ‘प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहन्छु । आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फÞत् मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद ! प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद ।’

यो खबर सत्तासीन पार्टीका नेता कार्याकर्ताले एकैछिनमा भाइरल गराइहाले । भाइरल हुनु स्वभाविक पनि थियो । पहिलो पटक देशबाहिरबाटै भर्चुअल रुपमा प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेका थिए भलै उनले कार्यवाहक प्रधानमन्त्री सुम्पेरै गएका हुन् ।

सरकारले आग्रगामी छलाङ मारेको अभिव्यक्ति सत्तारुढ दलका नेताहरुले दिए, प्रविधिको सहयोगमा भएको मन्त्रिपरिषद बैठक भन्दै । सिंगापुर बसेका प्रधानमन्त्रीले उच्चतम प्रविधि प्रयोग गरेर पनि देशका लागि मेहनत गरेको देखेपछि धेरैलाई लाग्यो, अब केही हुन्छ कि ?
तर, केहीबेरमै सामाजिक सञ्जालमा भिडियो कन्फ्रेन्स कुनै नयाँ कुरा नभएको प्रतिक्रिया पनि आउन थाल्यो ।

धेरैलाई लागेको थियो ः सरकारले आग्रगामी छलाङ मार्‍यो ।

केहीबेरमै सामाजिक सञ्जालमा भिडियो कन्फ्रेन्स कुनै नयाँ कुरा नभएको प्रतिक्रिया पनि आउन थाल्यो । किनकि दशक अघि नै अमेरिकामा भएका दाजुलाई नेपालमा भएको बहिनीले निधारमा भर्चुअल टीका लगाइसकेका थिए । अष्ट्रेलियामा भएका छोरासँग नेपालमा रहेकी आमाले स्काइपबाट कुराकानी गरिसकेका थिए । श्राद्ध देखि न्वारनसम्म भिडियोकै माध्यममा जनताको तहमा भइसकेको थियो ।

मन्त्रिपरिषद्को बैठक पहिलोपटक भिडियोमार्फत हुँदा तरंग फैलिनु चाहिँ स्वभाविक थियो । विरामी भएका प्रधानमन्त्री सकुशल बैठकमा सक्रिय देख्दा जनता दंग पनि परे । तर, मन्त्रिपरिषद्को गोपनीयता र प्रधानमन्त्रीको अध्यक्षतामाथि चाहि प्रश्न भने उठ्यो जुन स्वभाविक थियो नै ।

सामाजिक सञ्जालमा विरोध देखेर होला, प्रतिपक्षी दल र सत्तापक्षकै केही सांसदले यस बैठकको विरोध ग¥यो । नभए प्रतिपक्षी पनि हराएको बेला हो अहिले । सदनमा होस या सडकमा प्रतिपक्षी खासै देखिएको छैन । मिलीभगतमा काम हुने भएकैले होला चुपचापबाहेक केही सुनिदैन । सामाजिक सञ्जालमा केही सचेत वर्गले क्रस क्वेसन गर्न थालेपछि कांग्रेसले सदन र पार्टीबाट गोपनियताको प्रश्न उठाउँदै विरोध गर्‍यो । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमाथि प्रश्न ग¥यो । ने क पाकै नेता भीम रावलले सुर्खेत पुगेर भिडियो कन्फ्रेन्सको विरोध गरे ।

भदौ १२ गते बिहिबार राष्ट्रिय सभामा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटा मिडिया काउन्सिल विधेयक पेश गर्न पुगेका बेला कांग्रेस सांसदको विरोध सुनेर मुसुमुसु हाँसे ।

लगत्तै प्रतिनिधिसभा पुगेर बास्कोटा बम्किए । त्यहाँ उनले सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अध्यक्षता गरेको भर्चुअल बैठक क्याबिनेट बैठक नै नभएको दाबी गरे । त्यतिमात्र होइन बास्कोटाले उक्त बैठकबारे भ्रम फैलाइएको आरोपसम्म लगाउन भ्याए । प्रतिनिधिसभाको सार्वजनिक महत्वको विषयमा वक्तव्य राख्दै उनले ‘कहाँबाट क्याबिनेट आयो?’ सोधे ।

बास्कोटाको शब्द यस्तो थियो, ‘क्याबिनेटको वैठक हामीले भनेका थिएनौं । मैले त्यसै दिन मिडियालाई बताएको थिएँ, सम्माननीय प्रधानमन्त्रीज्यूले हेलो भन्नुभयो । हामीले नमस्कार गर्‍यौं । उहाँले फर्काउनुभयो । कतिपय विषयमा सोध्नुभयो । केही निर्देशन दिनुभयो ।’

हेलो र नमस्कारपछि के निर्देशन भयो ? ती कुरा सञ्चारमन्त्रीले खुलाएनन् । तर, उनले मन्त्रिपरिषद्को बचाउ गर्दै बैठक केवल अनौपचारिक भएको र रिहर्सल मात्र भएकोतर्फ इंगित गरे ।

यसो त उनले आफ्नो अभिव्यक्ति राख्नुअघि सार्वजनिक गरेको ट्वीटले भने मन्त्रिपरिषद् बैठक नै भएको पुष्टि गर्छ ।

आजको नियमित पत्रकार सम्मेलन नहुने सुचनामा उनले ट्वीटरमा लेखेका थिए, ‘गत साताको पत्रकार सम्मेलनयता मन्त्रीपरिषद् बैठकले कुनै निर्णय नगरेकोले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु ।’
यस ट्वीटमा प्रवक्ता बास्कोटाले मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेकोले नियमित पत्रकार सम्मेलन नहुने बताएका थिए । आफ्नै कुरालाई काटेका प्रवक्ता बास्कोटाले प्रधानमन्त्रीको ट्वीटलाई पनि सोझै काटिदिए ।

तामझाम र ढोल बजाएर गरिएको मन्त्रिपरिषद्को बैठकबाट कुनै निर्णय हुन नसक्नु आफै लज्जास्पद भएन र ?

देशमा के के न हुन लाग्या छ र मन्त्रिपरिषद्को बैठक नबसी नहुने भएको छ भनेजसरी सिंगापुरमा स्वास्थ्य लाभ लिइरहेकै बेला हंगामा मच्चाएर बसेको बैठकले कुनै निर्णय नगर्नु कही नभएको जात्रा उखान जस्तै भएन र ? त्यसमाथि विरामी प्रधानमन्त्रीलाई जबरजस्ती के के न बितेजस्तो गरेर मन्त्रिपरिषदमा राखेर फोटो सेसन मात्रै गर्नुको औचित्य कसले प्रमाणित गर्ने ?

अर्को कुरा, प्रधानमन्त्रीले त्यत्रो शब्द खर्चिएर प्रविधिकलाई दिएको धन्यवाद त्यसै खेर गयो । अनि सिंगापुरबाट टेलिप्रिजेन्स मार्फÞत मन्त्रिपरिषदको बैठक बस्न सकियो भन्ने वाक्यमाथि प्रहार गरियो ।

लोकतन्त्रमा सत्य बक्नुपर्छ भनेर पाठ सिकाउन भ्याएका मन्त्री बास्कोटाले थप प्रष्टाए, ‘हामीले क्याबिनेट बैठक भनेका पनि छैनौँ । एजेन्डा पनि थिएन । पास पनि भएन । हामीले पहिलो अभ्यास हो भनेका थियौँ । टेक्नोलीजीको प्रयोग भयो भनेका हौँ ।’
एजेन्डाबिना किन बसियो त बैठक ? के नाटक मञ्चन गर्नका लागि थियो ? जनता अन्योलमा । जनताले सर्वभौम सम्पन्न देशको गोपनीयतामाथि प्रश्न उठाउँदा प्रवक्ता बास्कोटाले भिडियो कन्फ्रेन्स कुनै कोणबाट असुरक्षित नभएको दाबी पनि गर्न भ्याए ।
आग्रह गर्दै बहकाउ र भ्रममा समाज जान नहुने पाठ सिकाउने मन्त्रीले आफूले भने दिनदहाडै जनताको सर्वोच्च निकाय सदनमा झुट बोलेर के गर्न खोजेका हुन्, बुझिएन ।

प्रवक्ता बास्कोटाले झुट् बोलेका हैनन् भने प्रधानमन्त्रीले झुट् बोलेका हुन् भन्न सक्नुपर्छ । नभए दुई मध्ये कसले एक जनाले चाहिँ सत्य र एकले झुट बोलेकै हुन् । एउटै क्याबिनेटका दुई हस्तीका कुराले सरकारको शैलीलाई कुरीकुरी भन्नबाहेक के गर्न सकिन्छ र ?

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहिबार  ९ : ०३ बजे