७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

एनआरएनएमा राजनीतिक हस्तक्षेप र विद्यामान समस्या


Ang

३० आश्विन २०७६, बिहिबार  

0
Shares

आङछिरिङ शेर्पा

समय परिस्थितिसँगै सुनौलो भविष्यको खोजीमा विदेसिएका नेपालीहरु हरेक दुई वर्ष मातृभूमि नेपालमा भेला हुँदै आएका छन् । नेपाल छोडेर विदेशिएका गैरआवासीय नेपालीको रुपमा उनीहरुले विगत एक दशकदेखि राजधानीमा कुम्भमेला गर्दै आइरहेका छन् । वर्षेनी बढ्दो सदस्यहरुसँगै यस पटक विश्वका करिब ८१ मुलुकका २५ सय प्रतिनिधित्व भेला भएका थिए ।

रुचि र बाध्यताले विदेशिएको उनीहरुले पछिल्लो समय मुलुकको हितमा धेरै कार्यहरु गर्दै आइरहेका छन् । सक्नेले ठूला प्रोजेक्टमार्फत देशलाई सघाइरहेका छन् भने नसक्नेसमेत गाउँघर र दुःख पाएका आफन्तलाई सहयोग गर्दै आइरहेका छन् ।
विदेशमा श्रम, सीप र ज्ञान हासिल गरेका उनीहरुले मुलुकलाई सघाउरहेका छन् । अहिले विदेशमा धेरै सफल व्यक्तिहरु छन् जसले मुलुकलाई महत्वपूर्ण योगदान दिन सक्नेहरु छन् तर कतिपय अझै एनआरएनभित्र आउन चाहेका छैनन् ।

उनीहरु नआउनु कारण संस्थाभित्रको विभाजित राजनीतिक गुटबन्दी पहिलो हो भने दोस्रो आइसिसीले आर्थिक रुपमा पारदर्शिता नअपनाउनले पनि हो । अहिले विश्वभरीको एनआरएन एनसिसीभित्र पार्टीगत गुटबन्दी हावी भएको छ । पछिल्लो समय विदेशमा कसलाई एनआरएनको नेता बनाउने हो भन्नेसमेत पाटीले नै निर्णय गर्दै आएको छ ।

एनआरएनए आइसिसीमा विगत ६ बर्षअघिदेखि राजनीतिक हस्तक्षेप हँुदै आएका छन् । विगतभन्दा यस पटक झनै बढी राजनीतिक हस्तक्षेप हुन थालेको छ । यस पटकको निर्वाचनमा नेकपा सरकार र प्रतिप्रक्षी नेपाली कांग्रेसले फरक फरक स्थानमा उम्मेद्वारहरुलाई बोलाएर प्यानल बनाएको देखिन्छ । विदेशमा दुःख गरेर आर्जेको सम्पत्ति र सीपलाई मुलुकको हितमा लगाउनेबारे सबै एकता हुनपर्नेमा पार्टीगत गुटबन्दीले अहिले एनआरएनएको साख पुरै गिरेको छ । नेपाली जनताले सोचेको भावना विपरित यस्ता क्रियकलाप र तडकभडकले सिंगो एनआरएनएप्रति धेरै चाहना र इच्छाहरु राख्नेहरुको भावनामा ठेस लागेको छ ।

जसको कारण नेपालको मुलधारको सञ्चारमाध्यमले खासै चासो दिएको छैन । एनआरएनको सम्मेलन हात्ती आयो, हात्ती आयो फुस्सा हुन थालेको छ । यसको ज्वलन्त उदाहरण यसपटक आयोजना गरेको पत्रकार सम्मेलनमा देखिएका नामै नचालेका धेरै सञ्चारमाध्यमहरु र उनीहरुले एनआरएनभित्र देखिएको गलत कुराहरु देखेर पनि बोल्न नसक्नले त्यो प्रष्ट हुन्छ । यसै बारेमा हिजो आफुसँगै मुलधारको पत्रकारिता गर्नेहरुलाई जिज्ञासा राख्दा उनीहरुको भनाई यो उद्योग वाणिज्य संघ निर्वाचन हो भनेका छन् । हुन पनि यो संस्थामा आर्थिक पारदर्शिताबारे हामीले प्रश्न गर्दा उत्तर दिन नसकेको देख्दा एनआरएनको नेतृत्व आर्थिक रुपमा पारदर्शिता नभएको प्रष्ट देखिन्छ । विश्वभरीकै एनआरएनए सदस्यले दिएको रकम र धनी व्यापारीहरुले दिएर अर्बौ जम्मा भएको बजेट सबै सकेर ऋण माग्न थालेको घटनाले सबै माझ चासो, चिन्ता र खोजीको विषय बनेको छ । संस्थामा विश्वभरकै सदस्यहरुको शुल्क, निर्वाचनको उम्मेद्वारहरुबाट संकलन गरेको रकमको हिसाब गर्दा पनि खर्बौ रुपैयाँ संस्थामा जम्मा भएको देखिन्छ ।

सरकारले मान्यता दिएको एनआरएनएलाई भवन निर्माणका लागि चाहिने सबै कुराहरु भन्सार छुटसमेत दिएका छन् । तर, सरकारी सुविधामा सीमित व्यक्तिहरुले दुरुपयोग गरेको नराम्रो पक्ष हो । त्यस्तै एनआरएनए केन्द्रका जिम्मेवार व्यक्तिहरुले बेलाबेला आफूखुसी गर्दै आएको निर्णयले पनि संस्थाप्रतिको विश्वासनीयतामाथि प्रश्न चिन्ह खडा हुन थालेका छन् । विगतझैं यसपटकको सम्मेलनमा पनि देखिएको अस्तव्यस्त, नेतृत्वहरु संस्थाको हितभन्दा पनि आफ्नो र राजनीतिक स्वार्थ पूर्तिको लागि गर्दै आएको कोठे बैठक र धेरै देशहरुबाट प्रनिनिधिलाई किनेर ल्याएको देख्दा यो संस्था भविष्य कता जाला भनेर चिन्ता लाग्नु स्वाभाविकै हो ।

यसपटक पनि रसियन व्यापारीहरुले विगतदेखि गर्दै आएको एकलौटी सिन्डीकेट, केही प्रतिनिधिहरुले विदेशमा सिकेको सँस्कार बिर्सेर देखाएको उग्रता, प्रतिनिधि दर्तामा देखिएको अस्तव्यस्त, नेतृत्व चयनमा देखिएको झैझगडा र बन्द सत्रमा देखिएको निरिहताले अबको नेतृत्वले कस्तो गर्ला भनेर सोचमग्न छु । यस पटक म, मेरो नेपाल र मेरो एनआरएन भनेर नारा राखेपनि अन्तत संस्था र संस्थाप्रति माया गर्नेहरुले बाहेक कतिपय जिम्मेवार व्यक्तिको भावना मै र मेरै एनआरएनए भनेर हिँडेको देख्दा आश्चर्य लाग्यो ।

लेखक नेपाल अमेरिकी पत्रकार संघका पूर्व अध्यक्ष हुन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार  ८ : १५ बजे