काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बिहिबार सम्पन्न मतदानमा जन निर्वाचित वडा अध्यक्ष महेन्द्र श्रेष्ठले पनि मतदान गरेको खुलेको छ ।
वडाध्यक्ष श्रेष्ठले एनआरएनएको निर्वाचनमा मतदान गरेको एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारीले बताए । उनका अनुसार श्रेष्ठ जापानको पञ्जीकृत सदस्य तथा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेको एनआरएनकर्मी हुन् । पर्वत जिल्लाको पैँयु गाउँपालिका वडा न ४ मा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित श्रेष्ठ वडाध्यक्ष भएको आफूलाई जानकारी नभए पनि जापानमा आउजाउ हुँदै आएको अध्यक्ष भण्डारीले बताए ।
नेपालको जनप्रतिनिधि श्रेष्ठले एनआरएनको निर्वाचनमा मतदान गरेको समाचार सार्वजनिक भएपछि यस बारेमा चासो बढेको छ । जापानबाट एक सय ५१ जना प्रतिनिधि सूचीमा उनको नाम रहेको अध्यक्ष भण्डारीले बताए । ‘उहाँ जापानको पञ्जीकृत सदस्य हो तर नेपालको वडा अध्यक्ष हो भनेर हामीलाई यहाँ आएर मात्र थाहा भयो,’ अध्यक्ष भण्डारीले भने । उनी यहाँ बसेपनि उनको सबै परिवार जापानमै बसोबास गरिरहेको भण्डारीले बताए । नेपालमा जनप्रतिनिधि हुन नेपाल सरकारको नियमअनुसार विदेशमा बस्नेहरुले त्यो पदमा निर्वाचनमा भाग लिन चाहेमा विदेशको पिआर त्याग्नु पर्ने नियम रहेको नेपालको राजनीतिज्ञहरु बताउँछन् । पिआर नत्यागी पदग्रहण गरी एनआरएनएको निर्वाचनमा भाग लिएको प्रमाणित भएमा कर्वाही हुने नेकपा सम्बद्ध एक नेताले बताए ।
यसअघि स्थानीय निर्वाचनमा सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको मेयरमा टिकट पाउने पक्कापक्की भइसकेका आङदामी शेर्पाले ग्रिनकार्डका कारण टिकट पाएनन् । नेकपा एमालेबाट टिकट लिने तयारीमा रहेका उनले ग्रिनकार्डसमेत त्यागेका थिए । यद्यपि ग्रिनकार्ड त्यागेको समयावधि कम भएको भन्दै उनलाई टिकट दिइएन ।