२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

दक्षिण अमेरिकी देश बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजीनामा



ला पाज– दक्षिण अमेरिकी देश बोलिभियाका राष्ट्रपति इभो मोरालेसले राजीनामा गरेका छन् । तीन सातादेखिको हिंसात्मक प्रदर्शनप्रति राष्ट्रपतिका कदमलाई सेना र प्रहरीले समर्थन नगर्ने घोषणापछि उनले आइतबार राजीनामा गरेका हुन् ।

राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा ठूलो जुलुस निकालिएको थियो । ६० वर्षीय बामपन्थी राजनीतिज्ञ एवं राष्ट्रपति मोरालेसले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

लामो समयदेखि सत्तामा रहेका मोरालेसका मन्त्री एवं वरिष्ट अधिकारीहरुले पनि एकाएक राजीनामा दिएपछि उनी थप संकटमा परेका थिए ।

विवादास्पद निर्वाचनबाट पुनः राष्ट्रपतिमा चयन भएका मोरालेस विरुद्ध तीन सातादेखि शृंखलाबद्ध विरोध प्रदर्शन भएको थियो । राष्ट्रपतिमा पराजित भएका पूर्व राष्ट्रपति एवं मुख्य विपक्षी दलका नेता कार्लोस मेसाले बोलिभियाली जनताले विश्वलाई नै नयाँ सन्देश दिएको बताए । उनले बोलिभियालाई नयाँ र समृद्ध देशमा रुपान्तरण गर्न पछिल्लो कदमले मद्दत गर्ने विश्वास व्यक्त गरे।

अब नयाँ राष्ट्रपति को हुने अन्यौलकै बीच २० जना सांसद र वरिष्ट सरकारी अधिकारीहरुले बोलिभियास्थित मेक्सिकोको राजदूतावासमा शरण लिएका छन् । मेक्सिकोले राष्ट्रपति मोरालेसलाई पनि शरण दिन आफू तयार रहेको घोषणा गरेको छ ।

यहीबीच मोरालेसले ट्वीट गर्दै आफूलाई गिरफ्तार गर्न सुरक्षाकर्मी पक्राउपूर्जीसहित आएको बताएका छन् । तर प्रहरी प्रमुख भ्लादिमिर युरी काल्डेरोनले भने मोरालेसको भनाईमा सत्यता नरहेको दाबी गरेका छन् । मोरालेसले आफ्नो घरमा पनि आक्रमणकारी समूहले ढुंगामुडा गरेको बताए ।

 

मोरालेसले बोलिभियाको राष्ट्रपतिमा करिब १४ वर्ष शासन गरेका छन् । यसै वर्षको अक्टोबर २० मा भएको निर्वाचनमा उनी थोरै मतले चौथो कार्यकालका लागि विजयी भएका थिए । विपक्षीहरुले धाँधली गरेर जितेको भन्दै परिणाम स्वीकारेका थिएनन् ।

प्रहरीले आइतबार राति निर्वाचन अदालतका प्रमुख मारिया युजेनिया चोकलाई गिरफ्तार गरेको घोषणा पनि गरेको छ । विपक्षीहरुले यही अदालतको आडमा मोरालेसले चुनाव जितेको आरोप लगाउँदै आएका थिए ।

आयमारा आदिवासी समुदायको प्रतिनिधित्व गर्ने मोरालेस विगतमा कृषक थिए । उनी सन् २००६ मा आदिवासी समुदायबाट बोलिभियाको पहिलो राष्ट्रपति बनेका थिए । राजीनामा गर्नेक्रममा मोरालेसले आफ्नो राष्ट्रपतीयकालमा भोकमरी र गरिबी कम गर्न ठूलो सफलता प्राप्त गरेको दाबी गरेका थिए ।

उनको जित अस्वीकार गर्दै भएको तीन सातायताको प्रदर्शनमा तीन जनाको मृत्युका साथै सयौं घाइते भएका थिए ।

विरोध प्रदर्शन जारी रहेकै अवस्थामा उनले नयाँ चुनावका लागि समेत प्रस्ताव गरेका थिए । उनको प्रस्ताव सुन्नुको सट्टा मुलुकका सशस्त्र फौज र प्रहरीले समेत राष्ट्रपतिलाई राजीनामा गर्न सुझाएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १ : ४३ बजे