ब्लुमबर्गद्वारा अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने औपचारिक घोषणा

२०७६ मंसिर १०, मंगलवार १०:१३

न्यूयोर्क : अर्बपति माइकल ब्लुमबर्गले अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी दिने औपचारिक निर्णय गरेका छन् । न्युयोर्क सिटीका पूर्व मेयरसमेत रहेका ब्लुमबर्ग डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा औपचारिक रुपमा सामेल भएका हुन् ।

उनी अमेरिकी धनाढ्यको सूचिमा आठौँ नम्बरमा पर्छन् । आर्थिक पत्रिका फोर्ब्सका अनुसार उनको सम्पत्ति ५४ दशमलव ४ बिलियन अमेरिकी डलर छ ।

उम्मेवारी घोषणाका लागि जारी वक्तव्यमा ब्लुमबर्गले ‘डोनाल्ड ट्रम्पलाई पराजित गर्न र अमेरिका पुननिर्माणमा लागि’ आफ्नो उम्मेदवारी रहने उल्लेख गरेका छन् ।

५० अर्बभन्दा बढी अमेरिकी डलर का मालिक ७७ वर्षका ब्लुमबर्गले अमेरिकाको पुनःनिर्माण र ट्रम्पको पराजयका लागि निर्वाचनमा जाने निर्णय लिएको बताए । उनको उम्मेदवारी घोषणा अमेरिकामा पहिलो प्राथमिक मतदानभन्दा तीन महिना पहिले भएको हो । यद्यपि राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिकका तर्फबाट उम्मेदवारी पाउन उनले उक्त दलका डेढ दर्जन नेताहरूलाई जित्नुपर्नेछ ।

तर उनलाई अहिलेसम्ममा उम्मेदवारीका लागि डेमोक्रेटिकका नेताहरू, पूर्व उपराष्ट्रपति जो बाइडेन, सिनेटर एलिजाबेथ वारेन र बर्नी सान्डर्स तथा मेयर पिट बुट्जजको चुनौति प्रमुख रहेको देखिन्छ ।

सन् २००१ मा न्युयोर्कको मेयर भएका ब्लुमबर्गले लगातार तीन कार्यकाल (१२ बर्ष) मेयर बनेका थिए ।

सम्बन्धित समाचार