१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सभामुख उम्मेदवार अग्नी सापकोटा तय



काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठकले अग्नीप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले सापकोटाको नाम टुंगो लगाएको हो ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सापकोटालाई सभामुख बनाउन सहमति भएको थियो । सभामुख उम्मेदवार बारे अन्तिम टुंगो लगाउन साँझ सचिवालय बैठक बोलाइएको हो ।

सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए।

उनको राजीनामा पछि सभामुखको प्रस्ताव अध्यक्ष ओलीले गर्ने कि दाहालले भन्नेमा नेकपामा विवाद चुलिएको थियो। जसकारण पुस ४ गते बोलाइएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको छ।

यसअघि अध्यक्ष ओलीले सभामुखमा सुवासचन्द्र नेम्वाङलाई अगाडि सारेका थिए। यस्तै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि दाबी गरेकी थिइन्।

प्रतिनिधिसभाको अर्को बैठक सोमबारका लागि बोलाइएको छ। उक्त बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ७ : १९ बजे