एजेन्सी– हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ । आफ्नो समयमा निकै ख्याती कमाएका ‘स्पार्टाकस’ र ‘पाथ्स् अफ ग्लोरी’ जस्ता चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए ।
सन् १९४० को दशकको अन्त्यतिर उनले अभिनय गरेका चलचित्रहरु अधिक रुचाइएका थिए । उनी अभिनयका अलावा फिल्म निर्माता र निर्देशकको शसक्त भूमिकामा पनि थिए । करिब छ दशकको कलायात्रामा उनले करिब १०० वटा चलचित्र निर्माण गरेका थिए ।
उनका छोरा एवं ओस्कार विजयी कलाकार तथा फिल्म निर्माता माइकल डग्लसले आफ्ना पिताको निधन बेभर्ले हिल्समा आफ्नै निवासमा भएको पुष्टि गरे । उनले पिताको निधनका बारेमा फेसबुकबाट सार्वजनिक गरेका छन् ।