७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कोरोना प्रकोप : अमेरिकामा मृतकको संख्या १२ पुग्यो, बेलायत र स्विजरल्यान्डमा पनि १/१ को मृत्यु



वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९) संक्रमणले पहिलोपटक ७१ वर्षीय एक वृद्धको मृत्यु भएपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्‌काल घोषणा गरिएको छ । क्यालिफोर्नियामा मृत्यु भएका वृद्ध व्यक्तिले सान फ्रान्सिस्को हुँदै मेक्सिको पुगेको ग्रान्ड प्रिन्सेस नामको पानीजहाजमा यात्रा गरेका थिए । उनी केही दिनदेखि स्याक्रामान्टो अस्पतालमा उपचाररत थिए ।

पानीजहाजमा रहेका करिब एक सय यात्रुको स्वास्थ्य परीक्षण गरिएको छ । क्यालिफोर्निया एयर नेसनल गार्डको हेलिकप्टरमार्फत पानीजहाजमा परीक्षण गर्ने किट पुर्‍याइएको थियो ।

अमेरिकामा कोभिड–१९ ले मृत्यु हुनेको संख्या १२ पुगेको छ, जसमा ११ जना वासिङ्टन राज्यकैछन् । विभिन्न १६ राज्यमा २ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित संख्यामा वृद्धि हुन थालेपछि ह्वाइटहाउसले देशैभर कोभिड–१९ को परीक्षण विस्तारगर्ने घोषणा गरेको छ । संक्रमण नियन्त्रण तथा रोकथाममा सहयोग पुगोस् भनेर यसअघि वासिङ्टन र फ्लोरिडाले पनि आपत्‌काल घोषणा गरेका थिए ।

कोरोनाको त्रास फैलिएसँगै अमेरिकाले चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । तर चीन छाडेको १४ दिन पछि भने त्यस्ता यात्रुलाई अमेरिका प्रवेश गर्न दिइने उसले जनाएको छ । यसैबीच अमेरिकी गृह मन्त्रालयले पछिल्ला केही दिनमा २ सय ४१ जनालाई अमेरिका प्रवेशमा रोक लगाएको जानकारी दिएको छ । त्यसमध्ये २ सय २७ जना स्थलमार्ग हुँदै अमेरिका प्रवेश गर्न लागेका थिए । कोभिड-१९ को प्रकोपको डरले अमेरिकाले विदेशी नागरिकको प्रवेशमा निकै कडाइ गरेको छ ।

इटालीमा शैक्षिक संस्था बन्द

कोभिड–१९ संक्रमणले युरोपमा सबैभन्दा प्रभावित इटालीले सबै विद्यालय तथा विश्वविद्यालय बन्द गरेको छ । शिक्षामन्त्री लुसिया एज्जोलिनाले बिहीबारबाट कम्तीमा मार्च १५ सम्म सबै विद्यालय र विश्वविद्यालय बन्द रहने जानकारी दिएकी हुन् । कोभिड–१९संक्रमणका कारण इटालीमा हालसम्म १ सय ४८ जनाको मृत्यु भएको र संक्रमितको संख्या ३ हजार ८ सय ५८ पुगेको नागरिक संरक्षणसम्बन्धी निकायले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप २८ जनाको कोभिड–१९ ले मृत्यु भएको र मृत्युदर ३.५ प्रतिशत रहेको उक्त निकायले उल्लेख गरेको छ ।

इरानमा मृत्यु हुने संख्या १०८

इरानमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ सय ८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरका अनुसार संक्रमितको संख्या ३ हजार ५ सय १३पुगेको छ । इरानमा पनि मार्च २० सम्म सबै विद्यालय र विश्वविद्यालय बन्द गरिएका छन् ।

स्विजरल्यान्ड र बेलायतमा एक-एक जनाको मृत्यु

कोभिड-१९ को संक्रमणबाट स्विजरल्यान्डमा पनि एक जनाको मृत्यु भएको छ । स्विजरल्यान्डका स्वास्थ्य अधिकारीहरुका अनुसार बिहीबार ७४ वर्षीय एक महिलाको भाइरसको संक्रमणबाट मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्नागरिएको थियो । ती महिला हालसालै इटाली घुम्न गएको हुँदा त्यतै ‌संक्रमण भएको आशंका गरिएको छ । शुक्रबार बिहानसम्म स्विजरल्यान्डमा १२० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै बेलायतमा पनि बिहीबार एक जना महिलाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ । बेलायती स्वास्थ्य अधिकारीहरुका अनुसार ७० वर्षीय ती महिलालाई बुधबार अस्पताल भर्ना गरिएको थियो । बेलायतमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ११६ पुगेको छ ।

दक्षिण अफ्रिकामा पहिलो संक्रमित

दक्षिण अफ्रिकाले बिहीबार कोभिड–१९ को पहिलो संक्रमित पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार इटाली भ्रमणबाट फर्किर्एका एक व्यक्तिमा भाइरस संक्रमण पाइएकोहो । ‘श्रीमतीसँगै इटालीबाट फर्किएका एक ३८ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । मार्च १ मा१० जना टोलीसहित उनीहरू दक्षिण अफ्रिका आएका थिए,’ स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । ‘डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरस(कोभिड–१९)बाट हालसम्म विश्वभर ३ हजार २ सय जनाको मृत्यु भएको छ । ९५ हजार ३ सय जना संक्रमित भइसकेका छन्, जसमध्ये ५३ हजारभन्दा बढी निको भएका छन् ।

३३८५ को मृत्यु, ९८हजार बढी संक्रमित

डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ८५ पुगेको छ । त्यस्तै शुक्रबार बिहानसम्म विश्‍वका ८० भन्दाबढी देशमा फैलिएको कोभि८-१९ बाट ९८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

चीनमा मात्रै ३ हजार ४२ जनाको मृत्यु भएको छ । चीनमा ८० हजार ५ सय ५२ जना संक्रमित भएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार चीनमा ५३हजारभन्दा बढी निको भएका छन् ।

त्यस्तै जापानमा १२, फ्रान्समा ७, स्पेनमा र इराकमा ३-३, हङकङ र अस्ट्रेलियामा २-२ तथा, ताइवान, थाइल्यान्ड, सान मारिनो र फिलिपिन्समा पनि १-१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : १४ बजे