२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

कोरोना संक्रमणबाट अमेरिकामा एकैदिन ८ सयभन्दा बढीको मृत्यु



वासिङ्टन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ८ सय १५ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा थप २४ हजारचन्दा बढीमा संक्रमण देखिएको छ। बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या ३ हजार ८ सय ६७ पुगेको छ। त्यस्तै अमेरिकामा संक्रमितको संख्या झण्डै २ लाख पुगेको छ।

अमेरिकामा संक्रमितको संख्या एक लाख ८७ हजार नाघेको छ भने निको हुनेको संख्या ६ हजार ४ सय ६१ पुगेको छ। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भन्दा अमेरिकामा मृत्यु हुनेको संख्या धेरै भएको छ। साथै चीनमा भन्दा अमेरिकामा संक्रमितको संख्या पनि दोब्बरले बढेको छ। बुधबार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ५ पुगेको छ भने संक्रमितको संख्या करिब ८१ हजार रहेको छ। चीनमा निको हुनेको संख्या नै करिब ७६ हजार रहेको छ।

न्युयोर्कमा मात्रै एक हजार बढीको मृत्यु
अमेरिकाको न्युयोर्कमा मात्रै एक हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मंगलबार मात्रै न्युयोर्कमा १८२ जनाको मृत्यु भएको छ। न्युयोर्क स्वास्थ्य विभागका अनुसार बुधबार बिहानसम्म न्युयोर्क सहरमा मात्रै करिब ४१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। त्यस्तै पूरा न्युयोर्क राज्यमा करिब ७१ हजार संक्रमित पुगेको पनि विभागले जनाएको छ। न्युयोर्कलाई कोरोना भाइरसको नयाँ इपिसेन्टर मान्न थालिएको छ। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तमा ६७ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको थियो।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्ता निकै कठिन र पीडादायी हुने बताएका छन्। मंगलबार ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले राष्ट्रव्यापी रुपमा सामाजिक दूरी कायम नराखे मृत्यु हुनेको संख्या अझ बढ्ने चेतावनी पनि दिएका छन्।

कोराना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वका विभिन्न देशमा गरी ४२ हजारको मृत्यु भइसकेको छ। त्यस्तै संक्रमितको संख्या ८ लाख ५८ हजारभन्दा बढी पुग्दा एक लाख ७७ हजारभन्दा बढी निको भएका छन्।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ९ : ४८ बजे