५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

कोरोनाबाट मृतकको संख्या : अमेरिकामा मात्रै १८ हजारभन्दा बढी, विश्वभर एक लाख नाघ्यो



वासिङ्टन । कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको अमेरिकामा मात्रै शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १८ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या करिब ५ लाख रहेको छ भने निको हुनेको संख्या २८ हजार ७ सय ९० रहेको छ।

अमेरिकामा शुक्रबार मात्रै २० हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने एक हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ। अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने न्युयोर्क सबैभन्दा बढी प्रभावित भएको छ। कोरोना भाइरसबाट अमेरिकाको योमिङ राज्यमा भने अहिलेसम्म कसैको मृत्यु भएको छैन।

त्यस्तै शनिबार बिहानसम्म इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय ४९ रहेको छ। त्यस्तै इटालीमा संक्रमितको संख्या करिब एक लाख ४७ हजार रहेको छ। संक्रमितमध्ये करिब ३० हजार निको भएका छन्।

त्यस्तै शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट स्पेनमा १६ हजार ८, फ्रान्समा १३ हजार २ सय १५, बेलायतमा ८ हजार ९ सय ७४, इरानमा ४ हजार २ सय ३२, चीनमा ३ हजार ३ सय ४०, बेल्जियममा ३ हजार १९, जर्मनीमा २ हजार ७ सय ६७, नेदरल्यान्ड्समा २ हजार ५ सय २०, ब्राजिलमा एक हजार ६८, टर्कीमा एक हजार ६ र स्विजरल्यान्डमा एक हजार २ जनाको मृत्यु भएको छ।

कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख दुई हजार ६ सय ७ रहेको छ ।

त्यस्तै शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ९४ हजारभन्दा बढी रहेको छ। संक्रमितमध्ये करिब ३ लाख ७६ हजार भने निको भएको जोन होप्किन्स विश्वविद्यालयले जनाएको छ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ४० बजे