१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

एमसीसीबारे छलफल गर्न नेकपा स्थायी कमिटि बैठक बस्दै



काठमाडौं । एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने भएकाे हाे । नेकपामा एमसीसीलाई सीधै पारित गर्नुपर्ने र संशोधन नगरी पारित गर्न नहुने दुइ मत बनेका छन् ।

एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै छ सो दिन दिउँसो संसद बैठक बस्दैछ । त्यो दिन संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निश्क्रिय हुनेछ ।

बुधबारको नेकपा स्थायी कमिटी बैठक महत्वपूर्ण मानिएको छ । यो बैठककाे निर्देशन अनुसार नेकपा संसदीय दलले निर्णय गर्नुपर्ने हुन्छ । स्थायी कमिटीले सम्झौता अनुमोदन नगर्ने निर्णय गरेमा केपी ओलीको अध्यक्षतामा बस्ने संसदीय दलको बैठकले सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गर्न सक्दैन ।

एमसीसीबारेकाे मत बाझिए पछि सुझाव दिन भन्दै नेकपाले झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय अध्ययन कार्यदल बनाएको थियो । कार्यदलको बहुमतले एमसीसी सम्झौता हुबहु पारित गर्न नमिल्ने मतसहितको प्रतिवेदन तयार पारेर पार्टी नेतृत्वलाई बुझाइसकेको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : ३७ बजे