१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यस्तो छ नेकपा नफुटाउने वामदेवको प्रस्ताव



काठमाडौं । सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टी फुट्न नदिने छ बुँदे प्रस्ताव अघि सारेका छन् । एकतालाई थप मजबुद बनाउनका लागि भन्दै उनले उक्त प्रस्ताव अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् ।

पार्टीमा देखिएका समस्यालाई समाधान गर्नका लागि उहाँले ती प्रस्ताव अध्यक्षद्वयलाई बुझाएको बताइएको छ ।

उपाध्यक्ष गौतमको प्रस्तावमा एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने उल्लेख छ भने अर्का अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने छ ।

यसैगरी पार्टी महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनिक कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने, सरकारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने, पार्टी केन्द्रीय सचिवालको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन एवं राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने, संसद्मा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने र अबदेखि पार्टीका बैठक पार्टी कार्यालयमा आयोजना गर्ने रहेको प्रस्तावमा उल्लेख छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ६ : २७ बजे