१० कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव, नेपालमा पनि भारी वर्षा र हिमपातको सम्भावना



बंगालको खाडीमा विकसित भइरहेको ‘अर्णव’ नामक चक्रवातका कारण नेपालका विभिन्न प्रदेशहरूमा भारी वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी बिहीबारदेखि शनिबारसम्म विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै सर्वसाधारण तथा सम्बद्ध निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार बंगालको खाडीको पूर्वमध्य र आसपासको दक्षिणपूर्वी क्षेत्रमा रहेको गहिरो न्यूनचापीय प्रणाली पश्चिमतर्फ सर्दै चक्रवाती आँधी ‘अर्णव’ मा परिणत भएको हो। भारतीय मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान साढे ५ बजे यो आँधी भारतको अन्डमान टापुस्थित श्री विजयपुरमबाट ५९० किलोमिटर उत्तरपश्चिम, आन्ध्र प्रदेशको विशाखापट्टनमबाट ६५० किलोमिटर पूर्व-दक्षिणपूर्व र काकिनाडाबाट ७३० किलोमिटर पूर्व-दक्षिणपूर्वमा केन्द्रित रहेको थियो।

यो आँधी क्रमशः शक्तिशाली बन्दै जाने र मंगलबारसम्म अति शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ। चक्रवात उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै बुधबार बिहान भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानम नजिकको तटीय क्षेत्र (बापटला र विशाखापट्टनमबीच) बाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ। त्यस समयमा हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरसम्म रहने र झोक्कासहित १४० किलोमिटरसम्म पुग्न सक्नेछ।

उक्त चक्रवातको प्रभावका कारण बिहीबारदेखि नेपालको मौसममा बदलाव आउनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी शुक्रबार र शनिबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।

वर्षा र मौसम बदलीसँगै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेकाले विभागले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। यस अवधिमा पर्यटकहरूलाई उच्च हिमाली भूभागको भ्रमणमा नजान र गन्तव्यमा पुगिसकेकाहरूलाई सुरक्षित स्थानमै रहन आग्रह गरिएको छ। साथै, धानबाली भित्र्याउनेलगायतका कृषि कार्यमा संलग्न किसानहरूलाई मौसमको अद्यावधिक पूर्वानुमान हेरेर मात्र काम गर्न सुझाइएको छ।

चिसो बढ्न सक्ने, पहाडी तथा तराई क्षेत्रमा पहिरो र डुबानको जोखिम रहनुका साथै सडक तथा हवाई यातायात, दैनिक जनजीवन र अन्य गतिविधि प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी गर्न विभागले अनुरोध गरेको छ। मौसमसम्बन्धी थप जानकारी र नयाँ पूर्वानुमानका लागि विभागले नियमित रूपमा जारी गर्ने सूचनामा ध्यान दिनसमेत आग्रह गरिएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८३, सोमबार  ११ : ०९ बजे