अमेरिकी कांग्रेस (संसद्) का दुईवटा उच्चस्तरीय प्रतिनिधिमण्डलले हालै नेपालसहित दक्षिण एसियाका हिमाली राज्यहरूको भ्रमण पूरा गरेका छन्। तिब्बती धर्मगुरु दलाई लामासँगको भेटवार्ता, शरणार्थी शिविर अवलोकन र द्विपक्षीय भेटघाटमा केन्द्रित यी भ्रमणहरूले दलाई लामाको उत्तराधिकारी चयन तथा तिब्बती शरणार्थी मामिलामा अमेरिकाको बढ्दो चासोलाई उजागर गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको वेज एन्ड मिन्स समितिका सभापति जेसन स्मिथको नेतृत्वमा आएको १६ सदस्यीय टोलीले कात्तिक ३ गते भारतको मुम्बईमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गर्दै भ्रमणको सुरुआत गरेको थियो। टोलीले कात्तिक ४ गते हिमाचल प्रदेशको धर्मशाला पुगेर धर्मगुरु दलाई लामासँग करिब एक घण्टा भेटवार्ता गर्यो। लगत्तै कात्तिक ५ गते भुटान पुगेर त्यहाँका प्रधानमन्त्री छिरिङ तोब्गेलाई भेटेको सो टोली भुटान एयरलाइन्सको चार्टर्ड उडान (बी ३७७१०) मार्फत कात्तिक ६ गते पारोबाट काठमाडौँ ओर्लिएको थियो। टोलीमा समितिका सदस्य, कर्मचारी, इन्डो-प्यासिफिक कमान्डका जलसेना अधिकारी तथा विभिन्न अमेरिकी सरकारी निकायका प्रतिनिधिहरू सहभागी थिए। नेपालको दुई दिने बसाइपछि सो टोली कात्तिक ८ गते बेलुकी साढे ६ बजे श्री एयरलाइन्सको चार्टर्ड उडान (शा-४६७१) बाट मुम्बई प्रस्थान गरेको थियो।
यसअघि गत असोज १४ गते पनि अमेरिकी कांग्रेसको ‘हाउस फरेन अफेयर्स कमिटी’का अध्यक्ष ब्रायन मास्टको नेतृत्वमा धर्मशाला पुगेर दलाई लामासँग तिब्बती पहिचान र उत्तराधिकारको विषयमा छलफल गरिएको थियो। सो भेटवार्ताको एक महिना नबित्दै अर्को टोली धर्मशाला हुँदै नेपाल आइपुगेको हो।
यसैबीच, अमेरिकी सिनेटर टोड यङको नेतृत्वमा रहेको अर्को ५ सदस्यीय टोली पनि बैंकक हुँदै थाई एयरवेजको उडानबाट कात्तिक ५ गते काठमाडौँ आइपुगेको थियो। सो टोली कतार एयरवेजको उडान (क्यूआर-६४५) बाट कात्तिक ८ गते बेलुकी सात बजे काठमाडौँबाट दोहा प्रस्थान गर्यो। यङ अमेरिकी कंग्रेसमा तिब्बतसम्बन्धी विधेयक पेस गर्ने, तिब्बती जनताको आत्मनिर्णयको अधिकार तथा धार्मिक स्वतन्त्रताका लागि निरन्तर आवाज उठाउने प्रमुख नेता हुन्।
नेपाल बसाइका क्रममा जेसन स्मिथ नेतृत्वको टोलीले कात्तिक ६ गते प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरूसँग भेटवार्ता गरेको थियो। अमेरिकी दूतावासका अनुसार बैठकमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध, आर्थिक साझेदारी र जलवायु परिवर्तनका कारण सिर्जित प्राकृतिक विपद् व्यवस्थापनबारे छलफल भएको थियो। परराष्ट्र स्रोतका अनुसार टोलीले प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र गृहमन्त्री सुदन गुरुङसँग भेटवार्ताको प्रयास गरे पनि सभामुखसँगको भेट मात्रै औपचारिक रूपमा सार्वजनिक भयो।
त्यसैगरी, कार्यवाहक राजदूत मेगन बोल्डिनसहितको स्मिथ नेतृत्वको टोलीले काठमाडौँ उपत्यकाका तिब्बती शरणार्थी शिविरहरू रहेका स्वयम्भूनाथ, जावलाखेल र बौद्धनाथका साथै पाटन दरबार क्षेत्रको अवलोकन गरेको थियो। उता सिनेटर यङको टोलीले भने चितवन राष्ट्रिय निकुञ्ज र ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय भ्रमण गरेको थियो।
कूटनीतिक विश्लेषकहरूका अनुसार अमेरिकी कंग्रेसमा ‘अस्योरिङ द फ्युचर अफ तिब्बत एक्ट, २०२६’ विचाराधीन रहेको अवस्थामा भएका यी तारन्तार भ्रमणहरू निकै अर्थपूर्ण छन्। यो प्रस्तावित ऐन १४ौँ दलाई लामापछिको १५ौँ दलाई लामा चयन र निर्वासित तिब्बती सरकार (सीटीए) लाई थप शक्तिशाली बनाएर नेतृत्वको संकट व्यवस्थापन गर्ने विषयमा केन्द्रित छ।
साथै, ‘तिब्बत पोलिसी एन्ड सपोर्ट एक्ट-२०२०’ ले सन् १९९२ यता नेपालमा जन्मिएका करिब ४-५ हजार तिब्बती शरणार्थीका सन्तानलाई परिचयपत्र उपलब्ध गराउने विषयलाई मानवअधिकारसँग जोडेर उठाएको छ। नेपाल सरकारका उच्च अधिकारीहरूले पनि अमेरिकी टोलीको यो ‘लो-प्रोफाइल’ भ्रमण दलाई लामाको उत्तराधिकारी छनोट र युवा तिब्बती शरणार्थीलाई कानुनी दस्ताबेज उपलब्ध गराउने विषयसँगै जोडिएको आकलन गरेका छन्।









