२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

कोरोनाबाट एकै दिन लोग्ने–स्वास्नीको मृत्यु



काठमाडौं । झापाको माङसेबुङ गाउँपालिका–५ मा कोरोना संक्रमणबाट एकै दिन लोग्ने–स्वास्नीको मृत्यु भएको छ । कोरोनाबाट ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।

श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको बताइएको छ । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होमआइसोलेशनमा हुनुहुन्छ ।

छ दिनअघि उहाँहरुलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबै होमआइसोलेशनमा हुनुहुन्थ्यो । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ । स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।

इलाममा बिहीबार थप २२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर ३७१ सङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सङ्क्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र सङ्क्रमित रहेका छन् । हाल गाउँगाउँमा सङ्क्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि सङ्क्रमण बढ्न थालेको हो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १२ : ५२ बजे