अमेरिकाले दिएको खोप आइपुग्यो, ५० देखि ५४ वर्षका नागरिकलाई लगाइने

२०७८ असार २८, सोमबार १४:२४

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोगमा नेपाललाई दिएको १५ लाख ३४ हजार ८५० खोपको मात्रा नेपाल आइपुगेको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सनको खोप आइपुगेको हो ।खोप नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे ।

हस्तान्तरणपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्राप्त खोप नेपाली नागरिकको जीवनरक्षाका लागि वरदान सावित हुने बताए । एक मात्रा मात्र लगाए पुग्ने सो खोप ५० देखि ५४ वर्षका नागरिकलाई प्राथमिकताका आधारमा लगाइने योजना रहेको उनले जानकारी दिए ।

अमेरिकाले यसअघिदेखि नै नेपाललाई कोरोनाको उपचार र रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ । उनले ७२ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप लगाउने गरी आवश्यक तयारी गरिएको पनि बताए ।

पत्रकार सम्मेलनमा राजदूत बेरीले नेपाली जनताको जीवनरक्षाको एक मात्र उद्देश्यले खोप उपलब्ध गराइएको बताउँदै यसले नेपाललाई अहिलेको महामारीबाट बाहिर निस्कन सहयोग गर्ने विश्वास व्यक्त गरे । कोभ्याक्सको गौरवशाली सदस्यका रुपमा अमेरिकाले दुई अर्ब डलरको अनुदान उपलब्ध गराएको अवगत गराउँदै उनले त्यस सहयोगबाट न्यून तथा मध्यम आय भएका मुलुकमा खोप आपूर्ति हुने बताए ।

सम्बन्धित समाचार