चार मुक्तक

२०७८ भाद्र १०, बिहीबार ०८:५७

  • कृष्ण बाउसे
कृष्ण बाउसे

१.  न त विदूषक भएर आपसमै लडिरहेको डफ्फालाई
न त पुरातन वा हिंस्रक अथवा पराईपोषक जत्थालाई
मेरो चाह हो मेची-महाकालीका सबैको साझा बनाउने
बाँदरको हातपरेको मेरो देशको सार्वभौमसत्तालाई  ।

२.  दुईखुट्टेहरू तँछाड-मछाड गर्दै मार्न गइरहेछन्
चारखुट्टे र पँखेटेहरू लुरुलुरु मर्न गइरहेछन्
दुवैथरी गइरहेछन् त्यही गढीमाईको मेला भर्न
जहाँको रक्तपात सम्झेर बुद्ध कतै रोइरहेछन्।

३.  यो त अखिरमा माटोकै एउटा चपरी न रहेछ
थिचिदाथिचिदै मक्केर जाने रेलको पटरी न रहेछ
जीवन नाउँको यो खटारोलाई अमूल्य पनि के भन्नु !
यो त केवल प्रयोगपछि मिल्काइने टपरी न रहेछ।

४.  तिनको राजनीति सेवा नभएर ब्यापार बनेको छ
देशको सम्पत्ति तिनै पतीतहरूको पेवा बनेको छ
डलर र भारुसँग सार्वभौमसत्ता साट्नेहरू छन् यहाँ
र तिनकै हालीमुहालीमा देशको सरकार चलेको छ।

सम्बन्धित समाचार