१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023

द गुरुङ (तमु) सोसाइटीको अध्यक्षमा तोरण गुरुङ



न्युयोर्क । द गुरुङ (तमु) सोसाइटी इंकको अध्यक्षमा तोरण गुरुङ निर्विरोध निर्वाचित भएका छन् । सोसाइटीको सधारणसभा तथा अधिवेशनले तोरणसहित १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा महासचिव अलिशा गुरुङ, उपाध्यक्ष शान्ति गुरुङ, कोषाध्यक्ष ओम गुरुङ, सहसचिव ओम विक्की गुरुङ, सहकोषाध्यक्षमा अन्जित गुरुङ निर्विरोध चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष तोरण गुरुङले अमेरिकामा रहेका सबै गुरुङहरुलाई एउटै मञ्चमा ल्याउनको लागि समाजका सल्लाहकारहरुसँग सल्लाह गरेर सहकार्यको प्रयास गर्ने बताएका छा् ।

गुरुङ समाजको एकताको लागि आफुले पहल गर्ने उनको भनाइ छ । गुरुङहरुको आफ्नै भवन निर्माणको लागि विभिन्न उपाय खोजेर पहल गर्ने पनि उनले बताए । युवाहरुलाई सक्रिय बनाएर अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष गुरुङले युवा वर्गलाई नेतृत्व तहमा ल्याउनको लागि पहल गर्ने बताए ।

गुरुङ आमा समूहसँग सहकार्य गरेर कसरी समाजलाई बलियो बनाउन सकिन्छ भन्ने बारेमा अघि बढ्ने पनि उनको भनाइ छ । समाजको नयाँ नेतृत्व चयनका लागि गौतम गुरुङको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन कमिटी बनाएको थियो । निर्वाचन समिति सदस्यहरुमा संस्थापक अध्यक्ष तुलसी गुरुङ, हर्कजंग गुरुङ, डा. रस कुमारी गुरुङ थिए ।

नयाँ कार्यसमितिमा बसुन्धरा गुरुङ, भक्त गुरुङ, लिला गुरुङ, योगेन्द्र गुरुङ, अशोक गुरुङ, बबि गुरुङ, ज्ञान गुरुङ, हेमा गुरुङ र विजय गुरुङ पनि सदस्यमा निर्विरोध चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष तोरण गुरुङ यसअघिको कार्यसमितिमा सहविचव थिए भने शान्ति, अलिशा, ओम, अन्जित, भक्त, ओम विक्की पनि यसअघिको कार्य समितिका विभिन्न पदमा कार्यरत थिए ।

नवनिर्वाचित समितिका सदस्यहरुलाई निर्वाचन समिति संयोजक गौतम गुरुङले पद तथा गापनीयताको सपथ गराएका थिए । दुई सत्रमा सञ्चालित कार्यक्रममा पहिलो चरणमा समाजले गएको दुई वर्षमा गरेका कार्यक्रमको कार्यप्रगति विवरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा गुरुङ युवाहरुले खेलकुद मार्फत विभिन्न खेल प्रतियोगितामा सहभागिता जनाउनुका साथै विभिन्न पुरस्कार प्राप्त गरेकोमा युवा खेलाडीहरुलाई प्रशंसापञ प्रदान गरी सम्मान गरिएको थियो ।

सोसाइटीका निवर्तमान अध्यक्ष विजय गुरुङले आफ्नो कार्यकाल सफल बनाउनको लागि सहयोग गर्ने सम्पूर्ण बोर्ड सदस्यहरु, सल्लाहकारहरु, आमा समुह, युवा समुहलगायत सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे । आफु बाहिर रहेपनि सोसाइटीको लागि आफु सधै समाजको साथमा रहने प्रतिवद्धता व्यक्त गरे । गुरुङ (तमु) सोसाइटी इंक, न्यूयोर्कको स्थापना सन् १९९९ मा भए पनि औपचारिक रुपमा जुन ३१, २००१ देखि सञ्चालनमा छ । नयाँ कायसमितिको कार्यकाल दुई वर्षको रहने छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : ४० बजे