न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा राजकुमार विष्ट विजयी भएका छन् ।
डिसेम्बर १९, २०२१ मा न्यूयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं महाधिवेशनमा भएको निर्वाचनमा विष्टले प्रतिद्वन्दी लोक चेम्जोङलाई ५ मत अन्तरले पराजित गरे ।
खसेको कूल ७६ मत मध्ये विष्टले ४० मत प्राप्त गरेका थिए भने निवर्तमान अध्यक्ष चेम्जोङले ३५ मत पाएका थिए । एक मत बदर भएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा शेर्पा संघका मिङमार शेर्पा, महिला उपाध्यक्षमा छोन्जोम छोन्जोम लामा, क्षेत्रीय उपाध्यक्षमा माया लामा, महासचिवमा टोमा लामा, सचिवमा सुभास राई र चम्पा कुमारी तामाङ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सभामुखमा सुवर्ण शाक्य र उपसभामुखमा गोमा योञ्जन निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा मुक्ति नारायण राई, तुल बहादुर तामाङ, रुकु राना र प्रकाश कुमार सुनुवार निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष विष्ट सामाजिक सेवाको क्षेत्रमा परिचित नाम हो । मुस्ताङ किदुंग, अमेरिकाको पूर्व अध्यक्षसमेत रहेका बिष्टले फिप्नाको कोषाध्यक्ष, बरिष्ठ उपाध्यक्ष र संघीय परिषदको सभामुखको रुपमा तीन कार्यकाल काम गरिसकेका छन् ।
नवनिर्वाचित अध्यक्ष विष्टले आदिवासी जनजातिको हकहित र अधिकारको अभियानमा बुलन्द आवाज उठाउने, फिप्नालाई सबै जात–जाति, धर्म र समुदायमाझ पुर्याउने र संस्थालाई सही मार्गमा डोर्याउने र सदस्य संस्थाहरुलाई एकीकृत गर्दै जाने, सांगठनिक विस्तारमा जोड दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै नवनिर्वाचित महासचिव टोमा लामा नेपाल आदिवासी आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को इतिहासमा पहिलो पटक महिला निर्विरोध निर्वाचित भएकी हुन् । युनाइटेट मुगुम अर्गानाइजेशन अमेरिकाबाट प्रतिनिधित्व गरेकी टोमा लामाले फिप्नाको सचिव पदमा रहेर काम गरी सकेकी छन् । महाधिवेसनले महासचिवको प्रतिवेदन, अध्यक्षको सांगठनिक प्रतिवेनद तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । फिप्नामा १८ वटा जातिय संस्थाहरु आवद्ध छन् ।