६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

नेपालले जित्यो केन्या विरुद्धको टी–२० क्रिकेट सिरिज



नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो ।

केन्याको नैरोवी जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ७५ रन बनायो । एक सय ७६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा केन्याले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४४ रन मात्र बनाउन सक्यो ।

नेपालको जितमा ज्ञानेन्द्र मल्लको अद्र्धशतकीय पारी महत्वपूर्ण रह्यो । मल्लले ४४ बलमा ५९ रन बनाए । यस क्रममा उनले दुई छक्का र पाँच चौका प्रहार गरे । रोहितकुमार पौडेलले २५ बलमा सात चौका हिर्काउँदै ४७ रन बनाए । यस्तै अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।

बलिङतर्फ केन्याका लागि नेहेम्याह ओढियाम्बो, विराट पटेल र शेम एन्गोचेले दुई/दुई तथा लुकास ओलुओचले एक विकेट लिए । ब्याटिङ गर्ने क्रममा केन्याका लागि नेहेम्याह ओढियाम्बोले ३७, कप्तान शेम एन्गोचेले अविजित ३३, इरफान करिमले २८, कोलियन्स ओबुयाले २३ र नेलसन ओढियाम्बोले अविजित १३ रन बनाए ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई तथा करन केसी, मोहमद आदिल आलम र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए । खेलको प्लेयर अफ दी म्याच नेपालका ज्ञानेन्द्र मल्ल तथा प्लेयर अफ दी सिरिज कप्तान सन्दीप लामिछाने घोषित भए ।

नेपालले अब केन्यासित तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ । नेपाल र केन्याबीचको पहिलो एकदिवसीय खेल शुक्रबार खेल्ने तय भएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ११ : ३७ बजे