१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

दार्चुला घटनाबारे भारतलाई ”कूटनीतिक नोट”



सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाबारे ध्यानाकर्षण गराउँदै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ ।

आइतबार बिहान काठमाडौंस्थित भारतीय दूतावासलाई परराष्ट्रले ‘कूटनीतिक नोट’ पठाएको हो । कूटनीतिक नोटमा परराष्ट्रले भारत सरकारलाई मुख्यगरी तिन आग्रह गरेको छ ।

पहिलो, भारततर्फ पूर्वाधार निर्माणका काम अघि बढाउँदा नेपालका सीमावर्ती स्थानीय निकायसँग प्रभावकारी रुपमा समन्वय गर्न, दोश्रो त्यस्ता कार्य गर्दा विशेष सावधानी अपनाउन र तेश्रो मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिन ।

गृह मन्त्रालयले घटनाबारे परराष्ट्रमा पठाएको स्थलगत प्रतिवेदनका आधारमा भारतलाई पत्र लेखिएको हो बताइएको छ ।

शनिबार पीडित परिवारसँगको छलफलका क्रममा भारतीय पक्षले गल्ती स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले नेपालखबरलाई बताएका थिए ।

बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रतिबद्दता भारतीय पक्षबाट आइसकेको छ । उता विस्फोट गराउने निजी कम्पनी भएकाले आफूहरुलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिइनुपर्ने पीडित परिवारको माग छ ।

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा गर्ग एन्ड गर्ग कम्पनीले विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका–२ दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो ।

घटनापछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारत गएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विष्फोट गराएर ज्यादती गरेकोले यथाशीघ्र यस्तो गतिविधि रोक्न उनीहरुले भारतीय पक्षलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ५ : ०३ बजे