११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

बाह्रौं सुम्निमा साँझ: नेपाली एक भएर अघि बढ्न स्थायी प्रतिनीधिको सुझाव



न्यूयोर्क । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले हरेक वर्ष आयोजना गर्दै आएको सुम्निमा साँझको बाह्रौं संस्करणलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनीधि अमृतबहादुर राईले नेपालीहरु एकजुट भएर अघि बढ्नु पर्ने बताएका छन् ।

‘नेपालीहरु जहाँ भएपनि एउटा बलियो संगठन बनाएर एकिकृत रुपमा अघि बढ्न जरुरी छ । त्यसरि अघि बढे नेपाललाई पनि परि आए सहयोग गर्न सक्छ,’ उनले भने, ‘जबसम्म नेपालको विकास हुँदैन, नेपाल समुन्नत हुँदैन, संसार भर नेपालीहरुको इज्जत र प्रतिष्ठा हुँदैन । त्यहि भएर तपाईँहरु यहाँ जसरि आफ्ना् साकार पार्दै हुनुहुन्छ त्यसैगरि नेपालमा पनि आफ्नो समुदायलाई केही न केही सहयो गर्नुभयो भने नेपाल पनि अनुग्रहित हुनेछ। तपाईहरु यहाँ स्थापित हुनभए नेपालमा हामी पनि गर्वले छाति फुल्याउँछौं ।’

त्यसका लागि उनले शिक्षा र सम्मुन्नतिलाई आत्मसाथ गर्नुपर्ने र अमेरिका जस्तो होस्ट कन्ट्रीमा नेपालीहरु मेहेनती समुदायका रुपमा स्थापित हुनुपर्छ । ‘हामी अमेरिकन ड्रिम बोकेर अमेरिका आएका हौं । मिहेनेती भयौं भने सफलता आफैँ चुम्न आइपुग्छ । हामी आर्थिक सामाजिक रुपमा हामी सशक्त हुनुपर्छ। त्यसका लागि मेरो शुभकामना छ । यहाँ आएर तपार्ई म सीमान्तकृत भएँ भन्न पाउनुहुन्न,’ उनले उदाहरण दिँदै भने, ‘अमेरिकामा ज्यूहरुको जनसंख्या २ प्रतिशत हो । तर अमेरिकाको बिलेनियरहरुमा २५ प्रतिशत उनीहरु छन् । संसारको जनसंख्यामा ज्यूहरु जिरो प्वान्ट जिरो प्रतिशतमात्र छन् । तर, नोबेल पुरस्कार पाउने ज्युजहरु २० प्रतिशत छन्। यसबाट हामीले सिक्नुपर्छ ।’

स्थायी प्रतिनीधि राईले विदेशी भूमिमा नेपालीहरुले पहिचान खोजिरहेको बताए । ‘यो विदेशी भूमिमा पहिलो पुस्ताले लिएर आएको पहिचान दोस्रो पुस्तामा हस्तान्तरण कसरि गर्ने भन्ने संगीन विषय भएको छ,’ उनले भने, ‘यो एउटा यस्तो कार्यक्रम हो जसले किराती संस्कृति र नेपाली पहिचानको हस्तान्तरण दोस्रो पुस्तामा हस्तान्तरण गर्छ ।’

उनले दौरा सुरुवाल र गुन्यू चोलीमा सजिएका बालबालिकाको प्रसंशा गरे । ‘यो आफ्नो पहिचान बुझ्ने स्वर्ण अबसर हो । यो कार्यक्रम पहिचान हस्तान्तरणको अभिन्न अंग हो,’ उनले भने ।

केआरएसएका केन्द्रिय अध्यक्ष खगेन्द्र राईले साकेला उधौलीको अवसरमा सुस्वास्थ र दीर्घायुको शुभकामना दिए । सुम्निमा साँझ आयोजक केआरएसए न्यूयोर्क च्याप्टरकी अध्यक्ष वाकासा वान्तावाले कुशलतापूर्वक राई समुदायलाई नेतृत्व प्रदान गरेको भन्दै केन्द्रिय अध्यक्ष राईको र दिन रात नभनी कार्यक्रम सफल बनाउन खटेको भन्दै कार्यक्रम आयोजक समितिका सदस्यहरुको प्रसंशा गरिन् । न्यूयोर्क च्याप्टर अध्यक्ष वान्तावा कोलम्बिया युनिभर्सिटीमा सिनियर फाइनान्सियल एनालिस्टका रुपमा काम गर्छिन् । केन्द्रिय अध्यक्ष राई ब्यबसायी हुन् ।

कार्यक्रममा एनआरएन न्यूयोर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पाले अहिलेको युगमा विचारको हतियारले लड्नु आवश्यक भएको बताए । प्रदर्शनीमा राखिएका किरात राई समुदायका पुराना हतियारसहितमा सामाग्रीतर्फ इंगित गर्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष राजकुमार बिस्टले कार्यक्रमका सफलताको शुभकामना दिए । कार्यक्रममा न्यूयोर्क स्टेट डिस्ट्रिक ३० का ऐसेम्ब्ली मेम्बर स्टिभन रागाले राई समुदायसँग साझेदारी गरेर काम गर्ने चाहना रहेको बताए । उनी फिलिपिनो मूलका आप्रपासी हुन् । गत निर्वाचनमा उनलाई नेपालीसहित आप्रवासी समुदायले साथ दिएको थियो ।

कार्यक्रममा बिजय नकर्मीको कोरियाग्राफीमा बालबालिकाहरुले साकेला नृत्य प्रस्तुत गरेका थिए । स्थानीय कलाकारको सांस्कृतिक नृत्य र गायनले राम्रो ठाउँ पाएको कार्यक्रमको आकषण भने भ्वाइस अफ नेपाल ३ का विजेता किरण गजमेर थिए । उनले झण्डै मध्यरातसम्म सहभागीलाई झुमाए । त्यसपछि डिजे जाङ्बुले फ्लोर तताए ।

कार्यक्रममा सहभागी हुन टेक्सासबाट केआरएसएका उपाध्यक्ष तथा टेक्सास च्याप्टर अध्यक्ष दिलिप राई बिओडि माकुहाङ राई सल्लाहकार विश्व राई न्यू योर्क आएका थिए । विशेष मुख्य प्रायोजक लामा एकाउन्टिङ र मुख्य प्रायोजक नेपाली भान्साघरले गरेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन केआरएसए न्यूयोर्क च्याप्टर सचिव विजय राईले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन केआरएसए न्यूयोर्क च्याप्टर कोषाध्यक्ष सिके राई र अन्जना राईले गरेका थिए । न्यूयोर्क च्याप्टर अध्यक्ष वान्तावा आफैंले कार्यक्रम आयोजक समितिको संयोजकत्व गरेकी थिइन् । तीन जना सहसंयोजकमा सुमन नाछिरिङ राई, सिके राई, मेघनाथ राईसहितको ३१ जनाको आयोजक समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ११ : ४६ बजे