१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

ल्होसार मनाउने परम्परागत विधि


Ang

३ फाल्गुन २०७९, बुधबार  

66
Shares

आचार्य सार्की शेर्पा

ल्होसार, ल्हो भनेको ‘वर्ष’ र सार भनेको ‘नयाँ’ हो, अर्थात् ल्होसारको शाब्दिक अर्थ के हो भने एक साल समाप्त भएर अर्को नयाँ सालको उदय हुनुलाई बुझिन्छ । हाम्रो समाजमा जान लागेको पुरानो वर्षको बिदाइ गर्नका लागि ल्होसार आउनु भन्द २, ३ दिन पहिलेदेखि धर्म गुरुहरू आमन्त्रण गरी भव्य पूजा प्रचलन पनि रहेको छ । त्यसै गरी आउन लागेको ल्होसार अर्थात् नयाँ वर्षको स्वागत गर्नको लागि आफ्नो गच्छे अनुसार जमर्को गर्ने गर्दछ ।

हिमाली क्षेत्रमा बसोबास गर्ने महायानी बौद्धमार्गी जनसमुदायहरूले मान्ने ल्होसार अर्थात् नयाँ सालको गणना मञ्जुश्री र कालचक्र ज्योतिष शास्त्रमा आधारित छन् । प्रत्येक वर्षको गणना र नामकरण बाह्र ओटा जनावरहरूको नाम, पाँच ओटा धातु र दुई लिङ्गहरूबाट हुने गर्दछ । बाह्र ओटा जनावरहरूको नामः १. मुसा, २. गोरु, ३.बाघ, ४.खरायो, ५.मेघ, ६.सर्प, ७.घोडा, ८.भेडा, ९.बाँदर, १०.चरा, ११.कुकुर र १२. सुँगुर हुन् । पाँच ओटा धातु १. काठ, २. आगो, ३. माटो, ४. फलाम, ५. पानी हुन् । दुई लिङ्गहरूः पुरुष र स्त्री हुन् । बाह्र ओटा जनावरहरूको नाम, पाँच ओटा धातु र दुई लिङ्गहरूको सहायताले १२० वर्षसम्मको गणना गर्न सकिन्छ ।

भोट पात्रोको बाह्रौँ महिनाको कृष्णा पक्ष चतुर्दशी (ङिशुगु) को दिन घर आँगनहरू साफा गरी बेलुका सबै परिवार एक साथ रहेर रमाइलो गर्दै नौ किसिमका खाद्य गेडागुडीहरू मिसाएर पकाएको गुथुक् (थुक्पा) अर्थात् क्वाँटी खाइन्छ । गुथुक खाने क्रममा आँटाको डल्लोभित्र खुर्सानी, कोइला, घ्यु, नुन, कागज आदि राखेर सबैलाई भाग पुग्ने गरी एक एक ओटा राखी दिने गर्दछ । गुथुक खानु भन्दा पहिला त्यो डल्लो क्रमशः एक एक जनाले खोलेर देखाइछ र त्यसको अर्थ लगाउँदै हास खेल गरिन्छ । गुथुक खाइसकेपछि दिउँसो घर आँगन सरसफाई गरिएको फोहोर मैलाहरू कुनै पनि बाँकी नरहने गरी राती नै फाल्ने गर्दछ । गोन्पा तथा गाउँघरका प्रमुख स्थानहरूमा सामूहिक गुथुक कार्यक्रम आयोजना गरी धर्म गुरुहरूबाट बुद्धको मन्त्र पाठ गरी बिदाइ हुने सालको ग्रह–दशाले नयाँ सालमा निरन्तरता नपाओस् र नयाँ सालमा सबैको ग्रह–दशा शान्त भई प्रगतिको कामना गर्ने गरिन्छ ।

त्यसको बोली पल्ट औँसीका दिन लागेको ल्होसारको लागि विशेष गरी घरको बहिरा भित्र सजाइन्छ । घरको भित्ताहरूमा आष्ठमङ्गल, स्वस्तिक आदि चिन्हहरू कोर्ने गर्दछन् । ल्होसार (नयाँ वर्ष)को पूजा तथा अतिथिहरूको लागि रोटी (खाप्से) पकाउनुको साथै विभिन्न किसिमका मिठाई, फलफूल र गेडागुडीहरू किनेर सजाउने गर्दछ ।

नयाँ वर्षको पहिलो दिन प्रतिपदको बिहान प्रातकाल धाराबाट पानी लिएर देवतालाई शुद्ध पानी, धुप र दीप चढाई आगामी वर्षहरूमा सबैको शुभमङ्गल होस् भनी प्रार्थना गर्दछन् । त्यसपछि विभिन्न चिजबिज हालेर बनाएको पीठोको परिकार (छेमार) र खाप्से खाने गर्दछन् । घरको आँगन र घरमाथि पञ्च रङ्गी ध्वजा पताका फरफराई सबै एक साथ ‘‘किकी सो सो ल्हा ग्यलो’’ (सुख होस् सुख होस् देवताको जय होस्) भनी जयका प्रतीक सेतो पीठो अकासमा उडाएर रमाइलो गर्ने गरिन्छ । कुल देवताहरूलाई साङ सेर्केयेमको पूजा गरी आ–आफ्नो धर्म गुरु, अभिभावकहरू र गोन्पा, चैत्यहरू भएको स्थानमा गएर आशीर्वाद लिने गर्दछ । त्यसैले यस दिनको ल्होसारलाई “लामा ल्होसार” भनिन्छ ।

दोस्रो दिन द्वितीया तिथिका दिन फेरी गोन्पा वा सार्वजनिक स्थलहरूमा जम्मा भई एक आपसमा टासी देलेग भन्दै शुभकामना आदानप्रदान गर्दै आफ्नो मौलिक भेष भूषामा मिठोमिठो खानेकुरा आदान प्रदान गरी ल्होसार मनाउने गर्छन् । साथै आ–आफ्नो गाउँ ठाउँका मान्यजनहरू कहाँ गई आर्सीवाद लिन्छन् । त्यसैले यस दिन मनाउने ल्होसारलाई “ग्याल्पो अर्थात् राजाको ल्होसार” भनिन्छ ।

तेस्रो दिन तृतीया तिथिका दिन दीर्घायु र सबै प्रकारका जीवनमा आई पर्ने विघ्न वाधालाई हटाउनको लागि गोन्पा वा बौद्धको तीर्थ स्थानहरूमा गएर ध्वजा पताका आदि लगाउनुको साथै जय जय कार गर्दै सातु छर्दै खुसी मनाउँछन् । यस दिन मनाउने ल्होसारलाई (छ्योक्योङ) धर्मपालाको ल्होसार भनिन्छ ।

यस पछि पनि लगातार पूर्णिमासम्म आफन्त साथीभाइहरू कहाँ आवत जावत गर्ने क्रम जारी रहन्छ । यस प्रकार पूर्णिमापछि ल्होसारको समापन हुन्छ । मङ्गोल महिनाको प्रथम तिथिदेखि पूर्णिमासम्म बुद्धले अबौद्धहरूलाई प्रतिकार्य शक्तिद्वारा पराजित गर्नुभएको तिथि पनि पर्ने भएकोले बौद्धमार्गीहरूले यो महिनालाई विशेष पुण्य महिनाको रूपमा मान्ने गर्दछ ।

नेपाल बहुल धार्मिक, बहुल सांस्कृतिक, जातीय विविधतायुक्त देश हो । यी सबै समुदायको आ–आफ्नै धार्मिक र सांस्कृतिक महत्त्व बोकेको मौलिक चाडपर्वहरू रहेका छन् । जसमध्ये लोसार पनि एक हो । ल्होसारमा खाप्से, ड्यासिल, गुथुक जस्ता मौलिक परिकार खाने, आफन्तजन, नाताकुटुम्ब, छर छिमेकीहरूसँग जमघट, नाचगान, आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्व भएको हुँदा ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धनमा विशेष योगदान पुर्‍याएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : ०३ बजे