सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नीतिगत रूपमा आजैदेखि नेपालमा टिकटक बन्द भएको बताइन् । ‘नीतिगत रूपमा आजदैखि बन्द भयो । प्राविधिक रूपमा कति समय लाग्छ भन्ने कुरा हो । प्राविधिक रूपमा आवश्यक पर्ने व्यवस्था सञ्चार मन्त्रालयले मिलाउनेछ,’ सञ्चारमन्त्री शर्माले इकान्तिपुरसँग भनिन् । लगातार सामाजिक सञ्जाल टिकटकबाट लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको पनि मन्त्री शर्माले बताइन् ।
अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश टिकटकसँग सम्बन्धित भएको तथ्यांक छ ।
फेक एकाउन्ट खोलेर जसले जसलाई जे पनि गर्न सक्ने र बदनाम गराउने सामग्रीलाई स्वतः हटाउने कुनै संयन्त्र टिकटकमा छैन । केही देशले टिकटकलाई प्रतिबन्ध नै लगाएका छन् भने अमेरिका, फ्रान्ससहित ५० भन्दा बढी विकसित देशले यसको नियमनका लागि कदमहरू चालेका छन् ।
टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई लि बिभिन्न खालका मतहरु देखिएका छन् । मत बिभाजित देखिएको छ ।
सामाजिक सञ्जालका आम प्रयोगकर्तासँगै राजनीतिक तप्का पनि विभाजित देखिएको छ।
सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खुलेर सरकारी निर्णयको विरोध गरेका छन्।
प्रतिनिधि सभा सदस्यसमेत रहेका महामन्त्री थापाले टिकट बन्द गराउने निर्णय तुरुन्त सच्याउन सरकारसँग माग गरेका छन्।
उनले टिकटक प्रतिबन्धको निर्णय गरेर सरकार उल्टो कदम हिँडेको टिप्पणी गरेका हुन्।
नेपाली कांग्रेसकै अर्का महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले ‘गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने प्रधानमन्त्रीज्यूरु’भनेर प्रश्न गरेका छन्।
उनले सञ्जालमा ४ बुँदामा सुझाव दिँदै उक्त निर्णय फिर्ता लिन पनि भनेका छन्।
प्रमुख प्रतिपक्षी एमाले महासचिव शंकर पोखरेलले नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको बताएका छन् । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य नभएको उल्लेख गर्दै कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त भएको बताएका छन् ।
पूर्वसञ्चारमन्त्री एवं एमाले सांसद गोकुल बाँस्कोटाले पनि सरकारी कदममा आपत्ति जनाएका छैनन्।
तर, विगतमा आफूले कानुन बनाएर नियमन गर्न खोजेको प्रसंगतर्फ संकेत गर्दै व्यंग्यात्मक शैलीमा हालका सत्तापक्षका नेताहरूलाई लोकतन्त्र खतरामा परेको नलागेको भए आफ्नो आपत्ति नरहेको भनेका छन्।
विपक्षी दल रास्वपा र राप्रपाले भने स्पष्ट शब्दमा सरकारी कदमको विरोध गरेका छन् र यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भनेका छन्।
‘यो निर्णय गर्ने सत्ताधारी दलकै कयौं नेताहरू भ्रष्ट होलान्। के अब पार्टी नै बन्द गरिदिने हो त?,’ रास्वपा सभापति रवि लामिछानेले भनेका छन्, ‘मूलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरू सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कयौं समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कयौं अफवाहलाई मूलधारले फेक प्रमाणीकरण गरे। अहिलेको युगमा सामाजिक सञ्जाल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया हो।’
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटक बन्द गर्ने सरकारको निर्णय अनुचित र अनुपयुक्त भनेका छन्।
‘प्रजातन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला ध्वाँस दिनेहरूबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ। यो निर्णय निरंकुशताको बाटो हो,’ उनले भनेका छन्, ‘आज टिकटक माथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स(टुइटर), फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ। कुनैपनि नाममा अभिव्यक्ति स्वतन्त्रता माथि लगाईने अंकुशको विरोध गरिन्छ। टिकटक माथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ।’