२६ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025

इलन मस्कको कम्पनी न्युरालिंकले राख्यो मानव मस्तिष्कमा ‘वायरलेस चिप’



अर्वपति इलन मस्कको कम्पनी प्रविधि कम्पनी न्युरालिंकले पहिलो पटक मानव मस्तिस्कमा ताररहित चिप (वायरलेस ब्रेन चिप) जडान गरेको छ । मस्कले एक्समार्फत कम्पनीले पहिलो पटक मानिसमा ताररहित चिप जडान प्रत्यारोपण गरिएको बताएका हुन् ।

चिप जडान गरिएको व्यक्तिको स्वास्थ्यमा सुधार भइरहेको पनि उनले जानकारी दिएका छन् । साथै प्रारम्भिक नतिजामा ती व्यक्तिको न्युरोन(स्नायुकोशिका) मा सुखद संकेत देखिएको पनि उनले बताएका छन् । न्युरालिंकले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने लक्ष्य राखेको छ । कम्पनीले यसले जटिल खालका स्नायु रोगको उपचारमा सहयोग पुग्ने बताइएको छ ।

न्युरालिंकलाई गत वर्ष अमेरिकी खाद्य तथा औषधि प्रशासन(एफडीए) ले मानव मस्तिष्कमा चिप राख्ने अनुमति दिएको थियो । न्युरालिंकसँगै अन्य कम्पनीले पनि मानव मस्तिष्कमा चिप जडानमा अनुसन्धान गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रोबोटिक शल्यक्रियामार्फत मानिसको मस्तिष्कमा निकै मसिना तारहरू राखिनेछन् । रोबोटले शल्यक्रियामार्फत मानव मस्तिष्कमा ६४ वटा लचिला रेसा राख्नेछ जुन मान्छेको रौँभन्दा पनि पातलो हुने कम्पनीले जनाएको छ । उक्त रेसा ‘हिँडडुल गर्ने चाहना’ राख्ने मस्तिष्कको भागमा राखिनेछन् । कम्पनीका अनुसार ती रेसाले मस्तिष्कबाट निस्कने संकेत एउटा एपमा तारबिनै डिकोड गर्न र रेकर्ड राख्न सघाउँछन् । उक्त उपकरण ब्याट्रीबाट चल्ने पनि कम्पनीको भनाइ छ ।

यसअघि अमेरिकाको युटास्थित ब्ल्याकरक न्युरोटेकले सन् २००४ मै इन्टरफेस मानिसको मस्तिष्कमा प्रत्यारोपण गरेको थियो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ४ : ३० बजे