२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

कतारका अमिर नेपाल आउँदै, विपिनको रिहाइका लागि पहल गर्न अनुरोध गरिने



कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उनले मंगलबार र बुधबार नेपालको भ्रमण गर्न लागेको औपचारिक जानकारी दिएको हो ।

कतारबाट हुन लागेको यो नै अहिलेसम्मको उच्च भ्रमण हो । कतारबाट यस अघि मन्त्रीहरुले भ्रमण गरेपनि अमिर (राजा) वा प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका थिएनन् ।

कतारका अमिर नेपालसहित तीन एसियाली मुलुकको भ्रमणमा आइतबार निस्किसकेका छन् । दोहाबाट फिलिपिन्स उडेका उनी बंगलादेश हुँदै नेपाल आइपुग्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार द्विपक्षीय वार्ता गर्ने छन् ।

त्यसक्रममा दुई देशका बीचमा केही सम्झौता र समझदारीहरुमा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको छ । अमिर बुधबार बेलुकी कतार फर्कने छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले इजराइलमा हमासको आक्रमणमा बेपत्ता भएर हमासको कब्जामा रहेको विश्वास गरिएका .नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्ने बताएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ४ : ५४ बजे