सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साहमाथि हत्या, बलात्कार र अपहरण गरी तीन वटा कसुरको आरोपमा अनुसन्धान भइरहेको छ ।
मंसिर १६ गतेको उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका साहलाई प्रहरीले बिहीबार सपथ लिए लगतै पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले मधुवनी टोलबाट पक्राउ गरेर उनीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
वडाध्यक्ष साहसहितका व्यक्तिले डाक्नेश्वरी नगरपालिका १ माधोपुरमा २०७८ चैत २२ गते एक महिलालाई सामुहिक बलात्कारपछि हत्या गरेको आरोप छ । सुरुमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाकमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए ।
साहसहितका ओरोपिविरुद्ध जवरजस्ती करणी र कर्तव्य ज्यान शीर्षकमा २०७९ साउन १७ गते हुलाकबाट उजुरी प्राप्त भएपछि अनुसन्धान गरिरहेको प्रहरीको जनाएको छ ।
यस्तै २०८० जेठ १० गते जिल्ला सरकारी वकील कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा व्यक्ति वेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीर बन्दक र कर्तव्य ज्यान मुद्दामा पनि जाहेरी दरखास्त पठाइएको थियो ।
उच्च अदालत जनकपुरको राजविराज इजलासबाट २०८० चैत ४ गते अनुसन्धानका लागि परमादेश जारी भएको थियो । उच्च सरकारी वकिल कार्यालय राजविराजमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा २०८१ साउन ६ गते परमादेश प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।