५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

ट्रम्प जितेसँगै बिटक्वाइनले इतिहास रच्यो



विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरन्सी बिटक्वाइनले ऐतिहासिक कायम गरेको छ । सोमबारको एशियाली बजारको कारोबारमा यसको मुल्य एक लाख ६ हजार डलर भन्दा माथि पुगेको थियो । पछि एक लाख ५ हजार वरिपरि समायोजित भएको छ ।

यो वृद्धिले ५ नोभेम्बरमा डोनाल्ड ट्रम्पको निर्वाचन विजय पछि क्रिप्टोकरन्सीको मूल्यमा ५० प्रतिशतभन्दा बढीको वृद्धि भएको देखाएको छ ।

यो क्रिप्टोकरन्सीको वृद्धि ट्रम्प प्रशासनको आगमनसँग जोडिएको छ, जुन बाइडन प्रशासनको तुलनामा क्रिप्टोकरन्सीप्रति धेरै सकारात्मक र अनुकूल देखिन्छ । ट्रम्पले हालै भनेका थिए, “म बिटकॉइनको राष्ट्रिय स्टकपाइल बनाउने विचार गर्दैछन्, जुन अमेरिकाको रणनीतिक तेल भण्डारण जस्तै हुनेछ ।”

व्यापार प्लेटफर्म एक्सएम डटकमका पीटर म्याकगायरले भनेका छन्, “निर्वाचनको पछि बिटकॉइनको वृद्धि पराबोलिक (अत्यधिक तीव्र) भएको छ, यसको वृद्धिको गति अझ बढ्दै गइरहेको छ ।” उनले यसरी नै धेरै लगानीकर्ताहरूको विश्वास रहयो भने एक लाख २० हजार डलरसम्म पुग्न सकिने आँकलन गरेका छन् । साथै २०२५ सम्ममा यसले एक लाख ५० हजारभन्दा बढीको मूल्य प्राप्त गर्ने संभावना छ ।

यसै महिनाको सुरुमा ट्रम्पले सिलिकन भ्यालीका उद्यमी डेविड साक्सलाई आफ्नो कृत्रिम बुद्धिमत्ता र क्रिप्टोकरन्सी प्रमुख नियुक्त गरेका थिए । साक्स, जो पूर्व पेपाल कार्यकारी र ट्रम्पका सल्लाहकार र मेगाडोनर इलन मस्कका नजिकका मित्र हुन् । उनले क्रिप्टोकरन्सी र डिजिटल मुद्रामा प्रशासनको दृष्टिकोण निर्धारण गर्न महत्त्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ५ : ०१ बजे