नेटफ्लिक्समा चर्चित बनेको ‘कन मम’ नामक डकुमेन्ट्रीकी प्रमुख पात्र बेलायती नागरिक डियोन मेरी हाना सिङ्गापुरमा ठगी अभियोगमा पक्राउ परेकी छन् ।
स्थानीय सञ्चार माध्यमहरूका अनुसार, ‘कन मम’ हेरेपछि ८४ वर्षीया हानाविरुद्ध कथित पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए । उनीहरूले हानाले ब्रुनाईको राजपरिवारको उत्तराधिकारबाट पैसा दिने झुटो आश्वासन दिँदै आफूहरूबाट लाखौं रकम ठगेको आरोप लगाएका छन् ।
सन् २०२० मा लन्डनका प्रसिद्ध पेस्ट्री शेफ ग्राहम होर्निगोल्डलाई ‘हराइरहेको आमाको रूपमा’ सम्पर्क गरेपछि हानाको ठगीको कथा चर्चामा आएको हो । डिएनए परीक्षणले उनी होर्निगोल्डकी आमा भएको पुष्टि गरे पनि त्यसपछि उनले आफूलाई ब्रुनाईका सुल्तानको अवैध सन्तान बताउँदै महँगो गिफ्ट, कार, घर आदिले छोरोलाई प्रभावित बनाइन् । तर पछि उनी छोरा र उसका साथीहरूलाई लाखौं ऋणमा डुबाएर हराइन् । होर्निगोल्डका अनुसार उनले करिब करिब ५ करोड नेपाली रुपैयाँ गुमाए ।
सिङ्गापुरको जिल्ला अदालतमा शनिबार भिडियो लिंकमार्फत अस्पतालको ओछ्यानबाट उपस्थित भएकी हाना माथि पाँचवटा ठगीको मुद्दा लगाइएको छ । उनीमाथि सिङ्गापुर र फ्रान्सका तीन पुरुषलाई विभिन्न बहानामा बैंक खातामा पैसा पठाउन लगाएको आरोप छ ।
प्रहरीका अनुसार उनले कानुनी शुल्क, नयाँ बैंक खाता खोल्ने, र मृत्यु नजिक रहेको भन्दै सहानुभूति बटुल्ने र पैसा फिर्ता गर्ने भन्दै करोडौं डलर सिङ्गापुरको एक मस्जिद र इस्लामिक संस्थालाई दिने आश्वासन दिएकी थिइन् ।
सुरुवाती अनुसन्धानमा हाना पाँच ठगी घटनामा संलग्न देखिएकी छन् र यसबाट करिब २ करोड नेपाली रुपैयाँ क्षति भएको अनुमान गरिएको छ ।
यदि दोषी ठहरिइन् भने उनलाई २० वर्षसम्मको जेल सजाय र जरिवाना हुनेसक्छ ।
नेटफ्लिक्सको डकुमेन्ट्री ‘कन मम’ मार्च २५ मा रिलिज भएको थियो र यसले महामारीको समयमा हाना र उनका छोराको पुनर्मिलनलाई चित्रण गर्छ ।
यसअघि हाना बेलायतमा पसलबाट चोरी र ठगी अभियोगमा दोषी ठहरिइसकेको फिल्ममा खुलाइएको छ ।