इजरायल र इरानबीचको लुकेको युद्ध प्रत्यक्ष, विनाशकारी मुठभेडमा परिणत भएको छ, जसले मध्यपूर्वलाई अभूतपूर्व संकटमा धकेलेको छ । दुवै पक्षबाट लगातार मिसाइल, ड्रोनसहितको हवाई आक्रमण भइरकेा छन् । दुवैले महत्त्वपूर्ण सैन्य पूर्वाधार र कथित आणविक सुविधा लक्षित गरेर आक्रमण गरेको दावी गरे पनि नागरिक क्षेत्रहरूलाई समेत निशाना बनाइएको छ । यसबाट दुवै पक्षमा ठूलो क्षति पुर्याएको छ ।
हालको तनाव १३ जुनमा “अपरेशन राइजिंग लायन” नामक इजरायलको ठूलो आक्रमणबाट सुरु भएको हो, जसमा इरानभरका एक दर्जन भन्दा बढी स्थानहरूलाई निशाना बनाइएको थियो । इजरायली र अन्तर्राष्ट्रिय स्रोतहरूले नतान्ज, खोन्डाब, र खोरमाबाद लगायतका प्रमुख आणविक स्थलहरू, साथै विभिन्न सैन्य ठेगानाहरुमा आक्रमण भएको बताएका छन् । आक्रमणमा इरानी क्रान्तिकारी गार्ड कोर्प्स (आईआरजीसी) कमाण्डर होसेन सलामी, इरानी सशस्त्र बलका प्रमुख जनरल मोहम्मद बाघेरी, र आणविक वैज्ञानिक फरीदून अब्बासी र मोहम्मद मेहदी तेहरान्ची लगायतका धेरै उच्च पदस्थ इरानी सैन्य र आणविक व्यक्तित्वहरू मारिएका छन् । तेहरानमा ७८ जना गैरसैनिक नागरिक मारिएको इरानी पक्षले दावी गरेको छ ।
इरानले तत्कालै इजरायलतर्फ ब्यालिस्टिक मिसाइल र ड्रोनहरुद्वारा जवाफी हमला गरेको थियो । इरानी राज्य मिडियाले इजरायली ऊर्जा पूर्वाधार र लडाकु जेट इन्धन उत्पादनमा संलग्न सुविधाहरूमा गरेको हमलाको जिम्मेवारी लिएको छ । इजरायली आपतकालीन सेवाका अनुसार हाइफा र तेल अवीव लगायत इजरायलभरका शहरहरूमा मिसाइलहरू खसेका थिए, जसले अग्ला भवनहरूमा क्षति पुर्याएको थियो र कम्तिमा आठ जनाको ज्यान गएको र १३० भन्दा बढी घाइते भएको छ ।
१४ जुनभरि र १५ जुनको बिहानसम्म पनि यो आक्रमण-जवाफी आक्रमण जारी छ । इजरायली रक्षा अधिकारीहरूले आफ्ना हमलाहरूको उद्देश्य इरानको जवाफी क्षमतालाई कमजोर पार्नु र इजरायललाई कुनै पनि इरानी खतरा हटाउनु रहेको बताएका छन् । इरानले “भारी र विनाशकारी” प्रतिक्रिया दिने कसम खाएको छ, सर्वोच्च नेता अली खामेनीले इजरायललाई “गम्भीर सजाय” भोग्न तयार हुन चेतावनी दिएको छ ।
क्षेत्रीय रूपमा अझ ठूलो युद्धको लागि विश्वव्यापी चिन्ता बढ्दै गएको छ । संयुक्त राज्य अमेरिकाले इरानी मिसाइलहरू रोक्न इजरायललाई सहयोग गरिरहेको बताएको छ तर इजरायलको प्रारम्भिक हमलाहरूमा प्रत्यक्ष संलग्नता अस्वीकार गरेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवैले आफ्ना इरानी र इजरायली समकक्षहरूसँग फोन वार्ता गरेका छन्, संयम र कूटनीतिमा फर्कन आग्रह गरेका ५न् । ओमानमा तय भएको अमेरिका-इरान आणविक वार्ता बढ्दो शत्रुताका कारण रद्द गरिएको छ ।
दुवै देशमा भएको क्षतिको पूर्ण मूल्यांकन अझै भइरहेको छ, तर प्रारम्भिक युद्ध क्षति मूल्यांकनले इरानी सैन्य र आणविक सुविधाहरूमा महत्त्वपूर्ण प्रभाव पारेको देखाउँछ । रिपोर्टहरूले विमान ह्याङ्गर, राडार प्रणाली, र मिसाइल भण्डारण सुविधाहरूको विनाश भएको संकेत गर्दछ । इरानले साउथ पार्स क्षेत्रमा रहेको प्राकृतिक ग्यास प्रशोधन प्लान्टमा इजरायली ड्रोन आक्रमणपछि आफ्नो ऊर्जा क्षेत्रमा अवरोध आएको पनि बताएको छ ।
द्वन्द्व बढ्दै जाँदा, विश्वव्यापी ऊर्जा बजार र सामुद्रिक सुरक्षामा अवरोधको चिन्ता बढ्दै गएको छ, एक इरानी जनरलले होर्मुज स्ट्रेट बन्द गर्ने सम्भावनाबारे समीक्षा गरिरहेको बताइएको छ । अन्तर्राष्ट्रिय समुदाय उच्च सतर्कतामा रहेको छ, विश्व नेताहरूबाट शत्रुताको तत्काल अन्त्य र कूटनीतिक समाधानको लागि आह्वान गरिरहेका छन् ।