२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

नेपालको निम्तामा भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने तयारी



नेपाल सरकारले भारतीय विदेशमन्त्री एस. जयशंकरलाई नेपाल भ्रमणका लागि औपचारिक निम्तो दिएको छ भने भारतीय विदेश मन्त्रालयले उक्त निम्तोको पुष्टि गर्दै भ्रमणको मिति कूटनीतिक माध्यमबाट आपसी सहमतिमा तय गरिने जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित नियमित प्रेस ब्रिफिङमा परराष्ट्रमन्त्री शिशिर खनालले गत चैत २७ गते मोरिसस भ्रमणका क्रममा भारतीय समकक्षी जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिए ।

नवौँ ‘इन्डियन ओसन कन्फरेन्स’मा सहभागी हुन मोरिसस पुगेका बेला दुई मन्त्रीबीच भएको साइडलाइन वार्तामा द्विपक्षीय हित, आर्थिक सहकार्य र क्षेत्रीय कनेक्टिभिटीका विषयमा गहन छलफल भएको भारतीय पक्षले बताएको छ ।

प्रवक्ता जैसवालले नेपाल–भारत सम्बन्धलाई बहुआयामिक, ऐतिहासिक र पारिवारिक प्रकृतिको संज्ञा दिँदै यसलाई अझ न्यानो र परिणाममुखी बनाउन भारत प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्रीबीच हालै भएको संवादले पनि दुई देशबीचको उच्चस्तरीय प्रतिबद्धतालाई झल्काएको बताए ।

यसअघि भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण तय भए पनि अन्तिम समयमा स्थगित भएको थियो र सोही सन्दर्भमा भारतीय पत्रकारहरूले राखेको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता जैसवालले जयशंकरलाई नेपालबाट औपचारिक भ्रमणको निम्तो प्राप्त भएको खुलासा गरेका हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १० : २० बजे